नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको सनराइज सभा हलमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्दै देशको वर्तमान अवस्था, पार्टीको रणनीति र राष्ट्रिय हितका विषयमा विस्तृत धारणा राखेका छन् ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । त्यसैगरी विभिन्न आयोगका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन् । असहमतिसहित दर्ता गरिएका दस्तावेजसमेत छलफलमा पेस हुने एमाले सचिवालयले जनाएको छ ।
कार्यक्रमअनुसार शुक्रबार सबै दस्तावेज प्रस्तुत हुने, शनिबार १० समूहमा छलफल हुने र आइतबार प्रतिवेदन पारित गर्दै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका तय गरिएको छ ।
उद्घाटन सम्बोधनमा प्रधानमन्त्री ओलीले लिपुलेक विवादको प्रसङ्ग उठाउँदै भारतसँग स्पष्ट रुपमा कुरा गर्ने प्रतिबद्धता जनाए । उनले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँगको वार्तामा नेपाल–भारत सीमासम्बन्धी विषय नेपाल र भारतकै बीच वार्ताबाट समाधान हुनुपर्ने धारणा राखेको बताए ।
“यो कुरा अडियो, भिडियो र नोटमा पनि सुरक्षित छ,” ओलीले भने, “चिनियाँ राष्ट्रपतिले नेपालको सार्वभौमसत्ताको पूर्ण सम्मान हुने बताएका छन् ।” ओलीका अनुसार चीनलाई यस विषयमा तेस्रो पक्षको रुपमा ल्याउने प्रयास नभएको र भारतसँगै वार्ताबाट समाधान खोजिने स्पष्ट गरिएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा सम्झौता नगरी आवश्यक सबै अन्तर्राष्ट्रिय मंचमा नेपालले आफ्नो धारणा प्रष्ट पार्ने आश्वासन पनि दिए ।