Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जुम्लाको स्याउ बोकेका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस माग्यो: ज्ञानेन्द्र शाही

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउ किनिदिन आग्रा गरेका छन् ।   प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शाहीले विदेशी स्याउ रोकेर नेपाली स्याउको बजारीकरणमा सहयोग गर्न सरकारसँग माग गरेका छन् ।

उनले देशभर र सांसदहरुलाई पनि जुम्लाको स्याउ किनिदिन आग्रह गरेका छन् । उनले भने- 'जुम्लाको स्याउ आएको छ बजारमा, रसिलो छ, स्वादिलो छ, अर्ग्यानिक छ, केमिकल हालेको छैन । यो स्याउ नेपाल भर सबै र माननीयज्यूहरुले पनि किनिदिनुहोला ।  अहिले मात्र विदेशी स्याउ आइरहेको छ । यसले जुम्लाको स्याउको बजारीकरण गर्न गार्हो भएको छ । कृषिमन्त्रीलाई आग्रह छ । अघिल्लो महिना मात्र साढे एक अर्बको स्याउ आएको छ । विदेशी स्याउ केमिकल हालेको छ । त्यसलाई क्वारेन्टाइन नगरी नल्यादिनुहोला, सकभर एक दुई महिना विदेशी स्याउ रोकिदिनु होला । त्यो भयो भने जुम्लाको स्याउले बजार पाउछ, त्यसले किसान खुशी हुने छन् ।'

त्यस्तै स्याउ ल्याउन सडक अवरुद्ध भएर समस्या भएको भन्दै सांसद शाहीले बर्षाको समयमा अतिरिक्त सडकको पहिरो हटाउने मेसिन राखिदिन आग्रह गरेका छन् । उनले भने- 'स्याउ रसिलो हुन्छ तर रसिलो स्याउ भित्र पनि पिडा छ । जुम्लाबाट आउने सडक चार दिनदेखि बन्द छ । एउटा डोजरले टुक टुक गरेर सडक खोल्न प्रयास गरेको छ । हिजो एक छिन् सडक खोलियो राति फेरी पहिरो आएर सडक अवरुद्ध रहेको छ । यो बर्षाको समयमा उपकरण थपिदिन भौतिक पूर्वाधार मन्त्रीलाई आग्रह गर्दछौं ।'

साथै सांसद शाहीले जुम्लाबाट स्याउ ल्याएका ट्रकसँग प्रहरीले सय रुपैयाँसम्म घुस मागिरहेको बताउदै स्याउ ल्याएका ट्रक देशभर चेक नगर्ने व्यवस्था गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।