Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चीन-भारत एकतापछि एसियामा शक्ति सन्तुलन, पश्चिमा प्रभाव कमजोर हुँदै

चीनमा सम्पन्न शाङ्घाई सहयोग संगठन (एससीओ) सम्मेलनमा भारत र चीनबीचको निकटता देखिएसँगै विश्व शक्ति सन्तुलन एसियातर्फ केन्द्रित भएको विज्ञहरूले बताएका छन्।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता र नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्षको अवसरमा ‘फ्रेन्ड्स अन क्लाउड’ले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले चीन–भारत सहकार्य नेपालका लागि अवसरका रूपमा लिनुपर्ने धारणा राखे।

कार्यक्रममा पूर्वराजदूत महेशराज दाहाल, पूर्वराजदूत डा. बिष्णुहरि नेपाल, द्वन्द्व विशेषज्ञ डा. बिष्णुराज उप्रेती, एमाले विदेश विभाग सदस्य गोपाल खनाल र फ्रेन्ड्स अन क्लाउडका अध्यक्ष शोभित उप्रेती सहभागी थिए। उनीहरूले प्रधानमन्त्री ओलीको उच्चस्तरीय भेटवार्ता र प्रस्तुतीकरणलाई नेपालको कूटनीतिक इतिहासमा ‘कोशेढुंगा’को रूपमा मूल्याङ्कन गरे।

प्रधानमन्त्री ओलीले सम्मेलनमा सीमा विवादबारे राखेको धारणा चिनियाँ पक्षले औपचारिक रूपमा संज्ञानमा लिएको दाबी गर्दै विज्ञहरूले यसका परिणाम समयक्रममा देखिने बताए। भारत र चीनसँगै रुसको सहकार्यका कारण पश्चिमी शक्तिको प्रभाव कमजोर हुँदै गएको र एसियामा विकासको गति तीव्र हुने अपेक्षा राखियो।

वक्ताहरूले नेपालले चीन र भारतसँगको कूटनीतिक सम्बन्धलाई सशक्त संवाद र कौशलमार्फत सुदृढ गर्दै सीमा लगायतका विवाद समाधान गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार, प्रधानमन्त्रीले सम्मेलनमा जलवायु परिवर्तन, कृषि, पूर्वाधार र विकासजस्ता साझा मुद्दाहरूमा स्पष्ट धारणा प्रस्तुत गरेका थिए। विदेशमा मुलुकको पक्षमा प्रष्ट अडान राखिरहँदा आन्तरिक रूपमा भ्रम र विवाद सिर्जना हुनु दु:खद भएको टिप्पणी पनि उनीहरूले गरे।