राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा.लेखजंग थापा नै रहने बताएका छन् ।
लेखजंग थापाको बहुविवाहको विषय बाहिर आएपछि रास्वपाले केही समय उनीमाथि अनुसन्धान गरेको थियो । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए ।
तर यसको जानकारी रास्वपा नेताहरूले थापालाई गराएपछि उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको कागज सार्वजनिक गरेका हुन् । त्यसपछि मगलबार खबरहबसँग कुराकानी गर्दै रास्वपा कार्यवाहक महामन्त्री बुर्लाकोटीले रास्वपाबाट थापा नै उपनिर्वाचनको उम्मेदवार भएको बताए ।
थापाले बहुविवाहबारे विवादमा तानिएपछि पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको अदालती कागज सार्वजनिक गरेका हुन् । डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनी बहुविवाहबारे विवादित बनेका थिए ।
थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रकृयाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमतीसँग डिभोर्स गरिसकेको पाइएको बताए ।
लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँगै रहेकाले सौहाद्र्धपूर्ण सम्बन्ध हुनु स्वाभाविक भएको उनको तर्क छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
