Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सैन्य परेडमा सहभागी हुन किम बख्तरबन्द रेल चढेर बेइजिङ प्रस्थान

उत्तर कोरियाली नेता किम जोङ उन चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । किम सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट चीनको राजधानी बेइजिङतर्फ लागेका हुन्।

दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार किमले मंगलबार आफ्नो बख्तरबन्द रेलमार्फत चीन प्रवेश गरेका हुन्। सुरक्षा व्यवस्थाका कारण रेल ढिलो गतिमा यात्रा गर्ने भएकाले बेइजिङ पुग्न करिब २४ घण्टा लाग्ने अनुमान छ। रेलमा फ्रान्सेली वाइन र ताजा लब्स्टरजस्ता परिकार पस्कने रेस्टुरेन्ट कोच रहेको बताइएको छ।

किम बुधबार आयोजना हुने 'विजय दिवस' परेडमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।

किमको रेलयात्रा परम्परा उनका हजुरबा किम इल सुंगले सुरु गरेका थिए। उनका पिता किम जोङ इलले पनि विमान यात्राप्रति डर भएकाले बख्तरबन्द रेलमै प्रायः विदेश भ्रमण गर्ने गर्थे।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार किमको हालको रेलमा करिब ९० वटा डब्बा छन्, जसमा बैठक कक्ष, शयनकक्ष र अतिथि सत्कार कक्षसम्म समावेश छन्।