Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा २५० को मृत्यु (अपडेट)

आइतबार राति अफगानिस्तानको पूर्वी भागमा गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा २५० जनाको ज्यान गएको छ भने ५०० भन्दा बढी मानिस घाइते भएका छन्।

भूकम्पको केन्द्र जमिनबाट करिब १६० किलोमिटर गहिराइमा जलालाबाद नजिकै रहेको पुष्टि नेशनल सेन्टर फर सिस्मोलोजी (NCS) ले गरेको छ। भारतीय समयअनुसार राति १२:४७ बजे गएको यस भूकम्पको कम्पन अफगानिस्तानका विभिन्न सहरसँगै पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो।

घाइतेहरूको उपचारका लागि नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ। उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

लगातार परकम्प, जनधनको क्षति

भूकम्पपछिपनि ४.७, ४.३ र ५.० म्याग्निच्युडका परकम्पहरू महसुस गरिएको छ, जसले स्थानीयवासीहरूमा त्रास फैलाएको छ। सरकारी प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत भूकम्पले पूर्वी प्रान्तहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गरेका छन्। यद्यपि, उनले मानवीय क्षतिको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

मृतक संख्यामा वृद्धि हुने आशंका

एनबीसी न्यूजले उद्धृत गरेका स्रोतअनुसार हालसम्म २५० जनाको मृत्यु भइसकेको छ भने न्यूयोर्क टाइम्सले सयभन्दा बढीको मृत्यु पुष्टि गर्दै मृतक संख्यामा अझै वृद्धि हुने चेतावनी दिएको छ।

यसअघि, ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा गएको भूकम्पले ठूलो विनाश ल्याएको थियो। उक्त भूकम्पमा अफगान सरकारले करिब ४ हजार जनाको मृत्यु भएको जनाएको थियो भने संयुक्त राष्ट्रसंघले कम्तीमा १,५०० को ज्यान गएको पुष्टि गरेको थियो।

अहिलेसम्मका तथ्यांकअनुसार अफगानिस्तान भूकम्पप्रति अत्यन्त संवेदनशील क्षेत्र हो, र कमजोर पूर्वाधार तथा स्वास्थ्य प्रणालीका कारण प्राकृतिक प्रकोपपछि ठूलो जनधनको क्षति हुने गर्छ।