शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् ।
चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको हो । शिखर सम्मेलनअघिको फोटो सेसनमा तीनै नेता एकअर्कालाई हात समातिरहेका देखिए। यस क्रममा मोदीले पुटिनलाई अंकमाल गरे ।
भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा अन्तरक्रिया जारी छ । एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।’
शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन् विभिन्न देशका सरकार र राष्ट्रप्रमुख अहिले चीनको थियानचिनमा पुगेका छन् ।
यसअघि आइतबार मोदीले जिनपिङसँग द्विपक्षीय भेटवार्तामा व्यापार र आतंकवादलगायत विभिन्न विषयमा छलफल गरेका थिए। एससीओ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस वर्ष एससीओका सदस्य मुलुकहरूलाई २ अर्ब युआन (करिब २८१ मिलियन अमेरिकी डलर) अनुदान दिने घोषणा गरेका छन् ।
यो सहयोग सदस्य मुलुकहरूको आर्थिक र विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्न उपयोग हुने उनले बताए। बैठकलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘यो संगठन आतंकवाद, अलगाववाद र उग्रवादको विरुद्धमा छ।’
Interactions in Tianjin continue! Exchanging perspectives with President Putin and President Xi during the SCO Summit. pic.twitter.com/K1eKVoHCvv
— Narendra Modi (@narendramodi) September 1, 2025