Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रचण्डको शान विगतको जस्तो रहेन, फेरि जेल–नेल खान तयार हुनुपर्ने भयो: अध्यक्ष दाहाल

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता–कार्यकर्ताहरूसँग आह्वान गरेका छन् ।

काठमाडौंमा आज (शनिबार) आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । बरू अब एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने उनको भनाइ छ । सदनबाट बल गरेर दलित ऐन बनाइ दिने, प्राधिकरण बनाइ दिने कामले मात्रै दलितहरुले अधिकार नपाउने उनको भनाइ छ ।

आफ्नो शान पहिलाको जस्तो नरहेको पनि उनले स्वीकार गरेका छन् । विगतमा निर्वाचनमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर गएको उनले स्मरण गरे ।

अध्यक्ष प्रचण्डले फेरि सेना बनाउनु पर्ने भन्ने कुरा आफूले नभनेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलन जरूरी रहेको बताए । चाडपर्व सकिएपछि सडकलाई नै मुख्य रुपमा प्रयोग गरेर अघि बढ्ने उनले बताएका छन् ।

‘हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन त त्यति ठूलो होइन नि । राप थियो, ताप थियो, वाइसियल थियो, सेना थियो । क्यान्टेनमेन्टमा भए पनि बन्दुक नै थियो,’ उनले भने, ‘म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर भोट हाल्न जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो भन्नुस् त । अहिले त..... छैन ।’

उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै एक पटक फेरि जेल, नेल, यातना खान तयार हुनुपर्ने बताए । ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो । हामी आन्दोलनमा जाने हो । बरु अब एक पटक फेरि जेल, नेल, यातना खान पनि तयार हुने अब,’ उनले थपे, ‘नत्र सजिलै माथिबाट नियम बनाइ दिने नेताहरूले, सदनबाट बल गरेर दलित ऐन बनाइ दिने, प्राधिकरण बनाइ दिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन । हामीलाई शक्ति चाहिन्छ ।’