Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रतिनिधि सभाबाट भूमि सम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित भएको छ । आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेस गरेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ पारित गरियोस भन्ने प्रस्ताव माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । 

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो ।प्रतिनिधिसभाले पारित गरेपछि अब यो विधेयक राष्ट्रिय सभामा जनाए छ भने राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउने छ । प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ र  राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यावसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन् । भूमिको वर्गीकरण गर्दा अवास र आवासीयमा नपरेका जग्गा समेत कित्ताकाट गरेर बेच्न पाउनेछन् ।

यस विधेयकमा अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राज्यले जग्गा दिने बाटो खुला हुनेछ । योसँगै भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई समेत जग्गा दिने व्यवस्था राखिएको छ ।