राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य अरनिको पाँडेविरूद्ध काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक हुने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार बिहानै अदालतमा मुद्दा दायर गरेको हो । कार्यालय समय अगावै मुद्दा दर्ता भएको अवस्थामा पेसी राखिएको हो ।
उनको मुद्दा न्यायाधीश कार्कीको इजलासमा राखिएको छ । उक्त इजलासमा सुरूमा बयान हुनेछ । बयानपछि थुनछेक बहस हुनेछ । बहस सकेपछि न्यायाधीश कार्कीले उनलाई पुर्पक्षको लागि धरौटीमा छाड्ने वा थुनामा राख्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे आदेश दिनेछन् ।
पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन् । उनीविरूद्ध एक महिलाले आफूलाई अपशब्द बोलेर गाली गरेको भन्दै जाहेरी दिएकी थिइन् । उनीविरूद्ध साउन १२ गते साइबर ब्युरोमा निवेदन परेको थियो । भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको थियो ।