नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक डाकेकी छन् । उनले यही भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन् ।
कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्ने बैठकमा छलफलका लागि चार वटा एजेण्डा तय गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीति, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा पार्टीको विवरण अध्यावधिक गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि गत साउन १६ गते पार्टीका संरक्षक रेशम चौधरी पक्षले भेला राखी रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको थियो । तर निर्वाचन आयोगले श्रेष्ठ नै अध्यक्ष रहेको ठहर गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो ।