Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

वडाध्यक्ष नै विदेश पलायन

गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा बिदेशिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै जर्मनी उडेका हुन् ।वडाध्यक्ष लामाले राजनीतिबाट सदाको लागि बिदा भएको घोषणा गर्दै बिदेशिएको जानकारी गराएका छन् ।

‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन ।’ उनले लेखेका छन्, ‘त्यसैले अबदेखि यो राजनीतिबाट सदाको लागि बिदा भएको निर्णयसहितको घोषणा गर्दै जीन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लाग्यो,’ उनले फेसबुकमा लेखेका छन् ।

लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी गाउँपालिकामा पठाएको गाउँपालिकाका सूचना अधिकारी सन्दीप रेग्मीले जानकारी दिए ।

‘उहाँले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र गाउँपालिकामा आएको छ । फर्किने नफर्किने विषयमा कुनै जानकारी आएको छैन,’ रेग्मीले भने । लामा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।