Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

१०२ वर्षे जापानी वृद्धद्वारा फुजी हिमालको सफल आरोहण, बन्यो विश्व रेकर्ड

१०२ वर्षका जापानी वृद्ध कोकिची अकुजावाले संसारकै ध्यान तान्ने अद्भुत उपलब्धि हासिल गरेका छन्। गम्भीर मुटु रोगका बाबजुद उनले जापानको सर्वोच्च शिखर, फुजी हिमाल, सफलतापूर्वक आरोहण गरे। यो साहसिक यात्रा पूरा गर्दै उनी फुजी चढ्ने अहिलेसम्मकै जेष्ठ व्यक्ति बनेका छन्। गिनिज वर्ल्ड रेकर्डले उनको यो अद्वितीय उपलब्धिलाई आधिकारिक मान्यता दिएको छ।

सन् १९२३ मा जन्मिएका अकुजावा पहिले पनि एकचोटि, ९६ वर्षको उमेरमा, फुजी हिमाल चढेका थिए। यसपटकको यात्रा अघिल्लो भन्दा फरक थियो। जनवरीमा घरनजिकैको पहाड चढ्दा उनी लडे। त्यसपछि उनलाई जोरो आउने शिङ्गल्स रोग लाग्यो र मुटु कमजोर भएर अस्पताल भर्ना हुनुपर्‍यो। यस्तो अवस्थामा फुजी हिमाल चढ्ने सोचले नै परिवारलाई अचम्ममा पार्‍यो।

तर अकुजावाको अठोट अटल थियो। स्वास्थ्य सुधारलगत्तै उनले बिहानै उठेर हिँड्न थाले। हप्तामा एकपटक स्थानीय पहाड चढ्ने अभ्यास पनि निरन्तर गरिरहे। यसरी अनुशासन र निरन्तरताले उनको शरीरलाई फेरि उर्जा दिएको थियो। छोरी युकिको भन्छिन्, “उहाँको निको हुने गति यति तीव्र थियो कि डाक्टरहरू पनि अचम्मित भए।”

अकुजावाले तीन दिनमा फुजी शिखरको यात्रा पूरा गरे। बाटोमा दुई रात डाँडामा झुप्रामा बिताए। उचाइको असरले शरीर कमजोर बनायो, तर साथमा रहेकी नातिनी-जो पेशाले नर्स हुन्। र अरू यात्रा साथीहरूको सहयोगले उनले चुचुरो छोए।

जब पत्रकारले उनलाई फेरि फुजी चढ्ने चाहना छ कि भनेर सोधे, उनले मुस्कुराउँदै छोटो जवाफ दिए - “छैन।” उनका लागि फुजीको दृश्य नयाँ थिएन, तर संसारका लागि त्यो दृश्य प्रेरणादायी बनेको छ।

अकुजावा अहिले पनि सक्रिय जीवन बाँचिरहेका छन्। गुन्मा क्षेत्रमा बसोबास गर्ने उनले अवकाशपछि पनि वृद्धाश्रममा स्वयंसेवा गर्छन् र चित्रकला सिकाउँछन्। उमेर केवल एउटा संख्या हो भन्ने उदाहरण बनेका छन् उनी।