Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

उखु किसानको आन्दोलनलाई बाबुराम भट्टराईको समर्थन

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरूको आन्दोलनलाई समर्थन जनाएका छन् ।

मंगलबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उनले उखु किसानका मागहरू जायज रहेको भन्दै समर्थन जनाएका हुन् । उनले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एक्लौटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गरे ।

उनले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरूमाथि अन्याय र ठगी गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूलाई आफ्ना जायज मागहरूप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गरे ।

मधेस प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।