Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपानेलाई पठाउने

सत्ता साझेदार नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको शीर्ष नेताहरूको छलफलले न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । न्यौपाने संसदीय सुनुवाइ समिति सभापति छिन् ।

‘संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिने र आजै राज्य व्यवस्था समिति सभापति पदका लागि मनोनयन दर्ता गराउने निर्णय भएको छ,’ छलफलमा सहभागी कांग्रेसका एक पदाधिकारीले सुनाए ।

सभापति देउवाले नै न्यौपानेलाई राज्य व्यवस्था समिति सभापति बनाउने प्रस्ताव अघि सारेका थिए । यसअघि सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले रामहरि खतिवडालाई नै राज्य व्यवस्था समिति सभापतिमा निरन्तरता दिनुपर्ने कुरा राखेका थिए । कुलिङ पिरियडसम्बन्धी त्रुटिमा खतिवडालाई संसदीय समितिले नैतिक जिम्मेवार ठहर्‍याएको थियो ।

खतिवडाले साउन २७ गते पदबाट राजीनामा दिएका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खतिवडालाई सभापतिमा फेरि पठाउने कुरामा असहमति राखेपछि सभापति देउवाले न्यौपानेलाई सभापति बनाउने प्रस्ताव अघि सारेको र त्यही नाममा सहमति जुटेको ती पदाधिकारीको भनाइ छ ।

‘सभापति देउवा पक्षले संस्थापन इतर पक्षका सांसदलाई राज्य व्यवस्था समिति सभापति दिन चाहेन, त्यसैले सभापतिले आफू निकट न्यौपानेको नाम प्रस्ताव गर्नुभयो र सबैको सहमति रह्यो,’ ती पदाधिकारीले भने ।

राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका सांसदहरू अम्बिका बस्नेत, गगन थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाईं, हृदयराम थानी, पूर्णबहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य छन् ।

WOW