Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

रास्वपाका प्रवक्ता झाले भेटे पूर्व राष्ट्रपति भण्डारी, गरे यी पाँच विषयमा कुराकानी

‘रविजीमाथि अन्याय भएको छ, एमालेको राजनीतिबाट पछि हट्दिन’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।

यस्तै भण्डारीले रास्वपा सभापतिमाथि ज्यादति भएको पनि बताएकी थिइन् । ‘रविजीमाथि जे भइरहेको छ, त्यसमा म सन्तुष्ट छैन, उहाँप्रति मेरो सद्भाव छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन् । भेटपछि झाले पूर्व राष्ट्रपतिले विभिन्न पाँच विषयमा केन्द्रित रहेर कुरा गरेको बताएका छन् ।

‘मलाई राजनीतिमा बन्देज लगाउने कुरा राम्रो होइन, म अगाडि बढिसकें, कुन बाटो हिंड्ने भन्ने मात्र हो, पछि फर्कने त होइन । म एमालेकै लागि काम गर्न चाहन्छु,’ भण्डारीको भनाइ उदृत गर्दै झाले सुनाए भने, ‘एमाले मेरो पनि पार्टी हो । मैले ४५ वर्ष योगदान गरेको पार्टी हो । मेरो इच्छा यही पार्टीमा योगदान गर्नेछ । अगाडि बढिसकें, कुन बाटो हिंड्छु भन्ने मात्र हो । पछि फर्कने कुरै छैन ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक अभ्यासबारे आफू जानकार भएको बताउँदै सभापति रवि लामिछानेलाई राज्यले दुःख दिने काम गरिरहेको बताएको पनि झाको भनाइ छ । ‘उहाँले नयाँ पुस्ताको राजनीतिको अभ्यास जुन भइराखेको छ, त्यसप्रति मेरो सद्भाव छ, उच्च आदर छ भनेर भन्नुभयो,’ झाले भने, ‘सहकारीको समस्या समाधान गर्नुपर्ने विषय तर, यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेजीलाई दुःख दिने काम भइराखेको छ, त्यसप्रति मेरो असन्तुष्टि छ र रविजीप्रति मेरो सद्भाव छ पनि भन्नु भयो।’

राज्य समाधानतिर जान छोडेर रवि लामिछानेलाई थुन्ने काम गरेकोप्रति भण्डारीले आपत्ति जनाएको झाले बताए । ’समस्या समाधानतिर जानुपर्ने तर, राज्य मुद्दा बनाएर नागरिकलाई दुःख दिनतिर गयो । दशैँ तिहार आउँदैछ मान्छेलाई पैसा खाँचो पर्छ तर, सहकारीले पैसा दिने अवस्था छैन । एक वर्षदेखि मान्छे थुन्ने मुद्दा लगाउने मात्र गर्‍यो त्यसमा पनि रविजीमाथि समान व्यवहार गरिराखेको छैन,’ झाले उनलाई उदृत गर्दै भने, ‘त्यही मुद्दामा कसैलाई चिया खुवाएर पठाइदिने, कसैलाई थुन्ने, कसैलाई रकम फिर्ता गरिदेऊ भनेर अवसर पनि दिने कसैलाई फिर्ता गर्छुभन्दा पनि नदिने जुन असमान कानुनी व्यवहार भइराखेको छ यो राम्रो भइराखेको छैन, त्यसले कालान्तरमा राम्रो गर्दैन ।’

विभिन्न राजनीतिक दलहरूको विचार खुला बहस हुनुपर्ने भण्डारीले भनेको झा बताउँछन् । ‘यसमा खुला बहस होस् जस्तै जबजले निजी क्षेत्रलाई कसरी हेर्छ भन्ने कुराको बहस हुनुपर्‍यो तपाईँहरूले गराउनु पर्‍यो भनेर भन्नु भयो,’ उनले थपे । अर्को विषयमा भण्डारीले आफू एमालेमा सक्रिय भइसकेको भए पनि पार्टीभित्रबाट रोक्न खोजेकोमा गुनासो गरेको झाले बताए ।

‘मलाई पार्टीभित्र एककिसिमले गम्भीर वातावरण बनाइएको छ, त्यसप्रति मेरो असन्तुष्टि छ । जबकि, एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले नै बालकोटमा विद्या भण्डारी जी राजनीतिमा आउनुपर्छ, किन नआउने भनेकै हो,’ भण्डारीको भनाइ उदृत गर्दै झाले थपे, ’उहाँ राजनीतिमा आउनु हुन्छ भनेर बोलेको कुरा अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर, मलाई अहिले चाहिँ फेरि उहाँ केपीजीले नै रोक्दै हुनुहुन्छ ।’