अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिएका छन् कि यदि उसले अमेरिकालाई चुम्बक (दुर्लभ खनिजबाट बनेको सामग्री) सजिलै नदिए, भने चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कडा प्रतिबन्ध लगाइनेछ।
अहिले अमेरिका र चीनबीच व्यापार विवाद बढ्दो छ। यसैबीच, चीनले अप्रिल महिनामा धेरै दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। यी वस्तुहरू आधुनिक प्रविधि र सुरक्षा उपकरणहरू बनाउन अत्यावश्यक मानिन्छन्।
यस विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँगको भेटका क्रममा चीनसँग अझै राम्रो सम्बन्ध रहने बताएका छन्। उनले भने, “हाम्रो चीनसँग राम्रो सम्बन्ध हुनेछ। उनीहरूका केही चाल छन्, हाम्रासमेत छन्। तर म ती चाल प्रयोग गर्न चाहन्नँ, नत्र चीन नष्ट हुनेछ।”
किम जोङसँग भेट्न इच्छुक ट्रम्प
उक्त भेटका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो राम्रो सम्बन्ध रहेको र उनलाई फेरि भेट्न चाहेको पनि बताएका छन्। “मेरो र किमबीच राम्रो सम्बन्ध छ। हामीले धेरै समय सँगै बिताएका छौँ। मैले उनलाई बुझ्छु,” ट्रम्पले भने। उनले किमसँग यसै वर्ष भेट्ने इच्छा व्यक्त गरेका छन्।