Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

मोदीको डिग्री सार्वजनिक गर्ने आदेश दिल्ली उच्च अदालतबाट रद्ध

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्नातक तहको डिग्रीसँग सम्बन्धित विषयमा भारतको दिल्ली उच्च अदालतले केन्द्रीय सूचना आयोग (सीआईसी) को आदेश रद्द गरेको छ । जसमा दिल्ली विश्वविद्यालय (डीयू) लाई प्रधानमन्त्री मोदीको स्नातक डिग्रीसँग सम्बन्धित जानकारी प्रदान गर्न भनिएको थियो । २०१६ को त्यो आदेशमा, एक आरटीआई कार्यकर्तालाई दिल्ली विश्वविद्यालयको १९७८ को बीएको रेकर्ड हेर्न अनुमति दिइएको थियो ।

लाइभ लको रिपोर्ट अनुसार, विश्वविद्यालयको तर्फबाट उपस्थित सलिसिटर जनरल तुषार मेहताले सीआईसीको आदेश खारेज गर्नुपर्ने बताएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग १९७८ को कला स्नातक डिग्री छ, अदालतलाई देखाउन कुनै आपत्ति छैन, तर यो सबैका लागि खोल्न नसकिने बताए । उनले सूचनाको अधिकार केवल जिज्ञासाको आधारमा प्रयोग गर्न नसकिने बताएका थिए ।

प्रतिवेदन अनुसार, अर्कोतर्फ, आरटीआई निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता संजय हेगडेले यस्तो जानकारी सामान्यतया विश्वविद्यालयले नै सूचना बोर्ड, वेबसाइट र पत्रपत्रिकामा प्रकाशित गर्नु पर्ने बताएका थिए ।

सीआईसीले आफ्नो आदेशमा दिल्ली विश्वविद्यालयलाई रेकर्ड देखाउन निर्देशन दिएको थियो र विश्वविद्यालयका सार्वजनिक सूचना अधिकारीको यो तेस्रो पक्षको व्यक्तिगत जानकारी हो भन्ने तर्कलाई अस्वीकार गरेको थियो । आयोगले यो तर्कको 'न त कुनै ठोस आधार छ, न त कुनै कानुनी वैधता' रहेको बताएको थियो ।