Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

समावेशी गणतन्त्रको सपना अपूरो छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् ।

लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा संग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको समेत बताए ।

प्रचण्डले भने- 'हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौँ।'

उक्त भवन निर्माणका लागि संघीय सरकारबाट बजेट माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीको पहलमा विनियोजन गरिएको थियो। प्रचण्डले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै 'रिजर्भेसन', 'भिन्न मत' वा 'नोट अफ डिसेन्ट' दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दासमेत सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा विशेष पहल लिएर काम गरेको उनले बताए । उनले भने- 'त्यही जमर्कोका कारण प्रतिक्रियावादीहरू, पहिचान र अधिकार विरोधीहरूले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे ।

पार्टी सरकार बाहिर भएपनि जनतासमक्ष विभिन्न अभियान मार्फत जोडिदै पुनः अभियानमार्फत सुशासन, पहिचान, अधिकार र समावेशीताका मुद्दालाई देशव्यापी रूपमा उठाउने तयारी भइरहेको उनले बताए । उनले भने- 'अब छिट्टै, भदौको तेस्रो साताबाट हामीले त्यस अभियानलाई फेरि पूर्णता दिने तयारीमा छौँ ।'

तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीका रूपमा उल्लेख गर्दै उहाँले उक्त संस्थाले गर्दै आएको प्रयासप्रति खुसी व्यक्त गरे । प्रचण्डले लमजुङको सांस्कृतिक तथा संग्रहालय भवन तामाङ समुदायको हक र पहिचानको सन्देश दिने एउटा बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे ।