भारतको गुवाहाटी अपराध शाखाले पत्रकार तथा युट्युबर अभिसार शर्मा विरुद्ध एफआईआर दर्ता गरेको छ ।
स्थानीय नागरिकको उजुरीपछि अभिसार विरुद्ध यो रिपोर्ट दर्ता गरिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । उजुरी अनुसार अभिसारले आफ्नो एउटा भिडियोमा आसाम र भारत सरकारको मजाक उडाएका छन् । भारतीय न्याय संहिता २०२३ को धारा १५२ (देशद्रोह), धारा १९६ र १९७ अन्तर्गत उनी विरुद्ध मुद्दा दर्ता गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
उजुरीमा अभिसार शर्माले आफ्नो भिडियोमा आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मामाथि 'साम्प्रदायिक राजनीति' गरेको आरोप लगाइएको छ । २३ वर्षीय उजुरीकर्ता आलोक बरुआले आफ्नो उजुरीमा अभिसारले आसामका मुख्यमन्त्रीविरुद्ध यी आरोप लगाएका छन् र उनको भिडियोले 'साम्प्रदायिक भावना भड्काउन सक्छ' भनेका छन् ।
आफ्नो विरुद्धमा दर्ता भएको एफआईआरको प्रतिक्रिया दिँदै अभिसार शर्माले मेरोविरुद्ध असम प्रहरीको एफआईआर पूर्णतया आधारहीन छ र यसको कानुनी रूपमा जवाफ दिने बताएका छन् ।