नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको दाबी गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालयको उद्घाटन गरेकी छिन् । आज (बिहीबार) दिउँसो एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूको उपस्थितिमा भण्डारीले कार्यालय उद्घाटन गरेकी हुन् ।
उद्घाटन समारोहमा एमालेका तीन पदाधिकारी पुगेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली कार्यक्रममा सहभागी छन् । व्यवस्थापन समितिका संयोजक पूर्व मुख्यमन्त्री डोरमणि पौडेललगायतका एमालेका नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, संविधानसभा सदस्य विकास लम्साल, कृष्णप्रसाद दाहाल, स्थायी कमिटी सदस्य कर्ण थापा, विद्यार्थी र युवा नेता प्रकाश पौडेल र सुमन पुरी, बागमतीका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, पूर्वमन्त्री एवं केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, काठमाडौंका पूर्व उपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, युवा संघका पूर्व उपाध्यक्ष रोशन बस्नेतलगायत छन् ।
मदन भण्डारी ७५ औं जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यक्रम भनिए पनि राजनीतिक गतिविधि अघि बढाउन भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन् । भण्डारी समूहले बानेश्वर हाइटस्थित थापागाउँमा चार तले भवन भाडामा लिएको छ । तीन दशकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारी समूहले पनि कार्यालय खोलिएको हो ।
‘०४८ सालमा मदन भण्डारीले काठमाडौंमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नु भएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्ने तयारी हुँदै छ,’ भण्डारी निकट एक नेताले सुनाए ।
उक्त घर फाउन्डेसनको आवरणमा लिइएको भए पनि अहिलेको परिस्थितिको सामना गर्नका लागि ‘जननेता मदन भण्डारी र जबज’ लाई कार्यकर्तासँग जोड्दै भावनात्मक सन्देश प्रवाह गर्न टेवा पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।
भण्डारी मदन भण्डारी फाउन्डेसनकै प्रयोग गरेर राजनीतिक गतिविधि अघि बढ्ने योजनामा छिन् । त्यसका लागि भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएको छ । त्यसैको माध्यमबाट आगामी राजनीतिक गतिविधि अघि बढाउने उनीहरूको योजना छ ।