नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजनीति गर्न छोड्दा गर्ल्यामगुर्लम्मै हुन्छ जस्तो लाग्ने गरेको टिप्पणी गरेका छन् ।
आज (बुधबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले साहित्यमा लाग्नबाट आफूलाई दिनदिनैको राजनीतिको चटारोले समय नमिलेको तर्क गरे ।
उनले देशको राजनीतिको खाँबो आफैले धानेको जस्तो लाग्ने गरेको बताए । आफूले राजनीतिक खाँबो छोडिदिएपछि सबै भत्किन्छ कि जस्तो हुने गरेको जिकिर गरे । नेपालको राजनीतिको जिम्मा आफ्नो काँधमै पूरै रहेको जस्तो महसुस हुने जिकिर गरे ।
प्रचण्डले भने, ‘म सरकारको नेतृत्वमा पनि छैन । प्रमुख प्रतिपक्ष दलको नेता छु । तर यस्तो लाग्छ : देशको राजनीतिको खाँबो मैले छोडिदिएँ भने भत्किहाल्छ कि जस्तो लाग्छ।गर्ल्यामगुर्लुम्म ढलिहाल्छ कि जस्तो लाग्छ । जिम्मेवारीबोध भनेको यस्तो हुँदो रहेछ कि अन्तिम अवस्था नहुन्जेलसम्म जिम्मेवारीले थिचिरहने ।’ प्रचण्डले आफू साहित्यप्रति धेरै रुचि राख्ने व्यक्ति भएको बताए।