Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

जता गए पनि रिस, आक्रोश र असन्तुष्टि देखिन्छ: गगन थापा

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा बढ्दो जनअसन्तुष्टिको आगो निभाउने जिम्मेवारी र तागत कांग्रेससँग मात्र भएको बताएका छन् । उनले जनताको आक्रोशमाथि अरूले मट्टितेल र पेट्रोल खन्याएर राजनीतिक लाभ लिइरहेको भन्दै कांग्रेसले आफ्ना कमजोरीहरू सच्याएर अघि बढ्नु पर्नेमा जोड दिए।

पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘जता गए पनि रिस, आक्रोश र असन्तुष्टि देखिन्छ । त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याउने, पेट्रोल हाल्ने काम एकथरिले गरिरहेका छन् ।’ उनले असन्तुष्टिको आगो बाल्नेहरूलाई मात्र दोष दिएर कांग्रेस उम्किन नमिल्ने बताएका छन् ।

‘त्यो आगो किन बलिरहेको छ भन्ने कुरा कांग्रेसले बुझ्नुपर्छ र त्यसलाई निभाउनु पर्छ,’ थापाले भने, ‘यो हाम्रो जिम्मेवारी हो । हामीले त्यो तागत राख्छौं ।’ उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारमा रहेकाले काम र परिणामबाट जनताको विश्वास जित्नुपर्ने बताए ।

पार्टीभित्र शुद्धीकरण र जागरणको आवश्यकता औंल्याउँदै उनले भने, ‘जुन कुरा हाम्रो कारणले भइरहेको छ, त्यो हामीले सच्याउनुपर्छ। हाम्रा कमजोरीहरू पनि हामीले सच्याउनु पर्छ ।’ थापाले पार्टीका शुभेच्छुक संस्थाहरूलाई पार्टीभित्र र बाहिर दुवैतिरको ऐनाको रूपमा काम गर्न आग्रह गरे ।