Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अलास्का शिखर वार्ता : पुटिनको जित, ट्रम्प खाली हात फर्किए!

अलास्कामा भएको भेटवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू चाहेको धेरै कुरा पाए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने खासै सफल देखिएनन्।

वार्ताबाट ट्रम्पले युक्रेनको सुरक्षासम्बन्धी कुनै ठोस उपलब्धि पाए वा भविष्यमा शान्ति सम्झौताका बीउ रोपे भन्ने अझै प्रष्ट छैन। यद्यपि, उनले भेटलाई ‘१० मध्ये १० नम्बर’ दिएको र प्रगति भएको दाबी गरेका छन्। तर, अधिकांश संकेतहरूले यो भेट पुटिनको ठूलो जीत भएको देखाउँछ, जसको विश्लेषण सीएनएनले पनि गरेको छ।

पुटिनलाई स्वागत गर्न ट्रम्पले गरेको भव्य तयारी-राष्ट्रपतीय जेटबाट एकैसाथ ओर्लनु, रातो कार्पेटमा हिँड्नु-जस्ता दृश्यहरूले पश्चिमी मुलुकहरूबाट अलग्गिएका पुटिनको छवि फेरि मजबूत भएको छ।

वार्ताको अन्त्यमा ट्रम्पले शान्ति प्रयासहरू अन्तिम सम्झौता केन्द्रित हुनुपर्छ भन्ने रुसी अडान स्वीकार गरे। यसले पुटिनलाई थप समय दिएको छ भने युक्रेनलाई दबाबमा पारेको छ। त्यसअघि ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध वा रुसको तेल किन्ने मुलुकहरूलाई दबाब दिने योजना अघि सार्ने अपेक्षा गरिएको थियो, तर उनले त्यसमा पछि हटे। यसले पुटिनलाई राहत दियो।

शिखर वार्तापछि ट्रम्पले युरोपेली नेताहरूसँग कुरा गर्दै पुटिनले युक्रेनलाई डोनबास क्षेत्र (लुहान्स्क र डोनेट्स्क) को केही भाग त्याग्न आग्रह गरेको बताए। बदलामा, खेर्सन र जापोरिझियामा युद्धलाई स्थिर राख्ने प्रस्ताव गरिएको थियो। विश्लेषकहरूका अनुसार यस्तो सम्झौताले भविष्यमा मस्कोलाई फेरि आक्रमण गर्ने आधार दिन सक्छ।

ट्रम्पले युद्धपश्चात् युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टी दिने सम्भावनाबारे पनि कुरा गरेका छन्। यसबारे थप छलफलका लागि उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूलाई ह्वाइट हाउसमा निम्त्याएका छन्।

तर, कीभ सरकारले ट्रम्पले पुटिनसँग गरेको सहमतिमा छुट दिन दबाब दिने प्रयासलाई स्वीकार गर्ने सम्भावना कम देखिन्छ। ट्रम्पले पनि युद्धविराम बिना फर्किन आफू सन्तुष्ट नहुने बताएका छन्। रुस भने लामो वार्तामा तयार देखिन्छ, जसले उसलाई कुरा गर्दैगर्दा पनि युद्ध जारी राख्न मद्दत गर्छ। तर युक्रेनी जनता निरन्तर आक्रमण र क्षेप्यास्त्र हमलाबाट थकित भइसकेका छन्।

ट्रम्प शान्तिका लागि उत्साहित देखिन्छन्, तर उनले पटकपटक नोबेल शान्ति पुरस्कार चाहेको कुरा गर्दा उनको वास्तविक उद्देश्यप्रति प्रश्न उठेको छ। उनी आफूलाई महान् सम्झौताकर्ता ठान्छन् र यही आधारमा युद्ध अन्त्य गर्ने विश्वास राख्छन्। तर अलास्का वार्तापछि उनले पुटिनलाई बढी फाइदा दिने मात्र देखिएका छन्।

युद्ध अन्त्यका लागि अन्ततः अमेरिकी शक्ति र प्रतिबन्ध आवश्यक देखिन्छ। तर अहिले ट्रम्प पुटिनको प्रभावमा परेको जस्तो लाग्छ। यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले आक्रमण अझ बढाउन सक्ने आशंका व्यक्त गरेका छन्। उनले आफ्नो देश आवश्यक परेमा बदला लिन तयार रहेको बताएका छन्।