Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अलास्कामा ट्रम्प-पुटिन वार्ता : युद्धविरामको संकेत तर सम्झौता टुंगोमा पुगेन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रूसयुक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले बहुप्रतिक्षित वार्ता शुक्रबार अलास्काको एन्कोरेजमा सम्पन्न भएको छ। करिब तीन घण्टा लामो यो उच्चस्तरीय वार्तापछि दुबै नेताले युद्धविरामका लागि महत्त्वपूर्ण प्रगति भएको बताएका छन्।

यद्यपि, अन्तिम सम्झौता भने हुन सकेको छैन। सीबीएस न्यूजका अनुसार वार्ता ‘उच्च जोखिमपूर्ण’ भए पनि कुनै औपचारिक सम्झौता टुंगोमा पुगेको छैन।

वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले वार्तालाई "अत्यधिक फलदायी" भनेका थिए। तर उनले चेतावनीपूर्ण शैलीमा भने, “सम्झौता नभएसम्म, सम्झौता हुँदैन।” उनले युक्रेन युद्ध अन्त्यका लागि केकसमा सहमति भयो र कुनकुन मुद्दा अझै बाँकी छ भन्नेबारे विस्तृत जानकारी दिन मानेनन्।

ट्रम्पले भने, केही प्रमुख बुँदाहरूमा सहमति भएको छ र बाँकी विषयहरूमा पनि सकारात्मक सम्भावना देखिएको छ। उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तथा नेटो सहयोगीहरूसँग सम्पर्क गरी थप छलफल अघि बढाउने बताएका छन्।

रुसी राष्ट्रपति पुटिनले युद्धलाई "दुःखद घटना" भन्दै यसको समाधान चाहेको बताए। तर, उनले युद्धका कारणहरू हटाउन आवश्यक रहेको बताएका छन्। साथै, उनले युक्रेन र युरोपेली मुलुकहरूलाई वार्ताको वातावरण विथोल्ने प्रयास नगर्न चेतावनी दिए।

पुटिनले बैठकलाई "द्वन्द्व समाधानको प्रारम्भिक बिन्दु" को रूपमा व्याख्या गरे भने ट्रम्पसँगको सम्बन्धलाई "व्यावसायिक र प्रभावकारी" बताएका छन्। दुबै नेताले चाँडै पुनः भेट हुने संकेत दिएका छन्। ट्रम्पले अर्को भेटका लागि तत्पर रहेको जनाए भने पुटिनले भने, “अर्को पटक मस्कोमा भेट हुनेछ।”

यो वार्ता अलास्कास्थित अमेरिकी सैन्य बेस एल्मेन्डोर्फरिचर्डसनमा सम्पन्न भएको थियो। सन् २०१९ यता ट्रम्पपुटिनबीचको यो पहिलो आमनेसामने भेट हो। साथै, पुटिनको तर्फबाट अमेरिकी राष्ट्रपतिसँग युद्धपछिको पहिलो प्रत्यक्ष संवाद पनि यही हो।

हालसम्म ट्रम्प र पुटिनबीच फोनवार्ता भए पनि प्रत्यक्ष भेट भएको थिएन। ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि सक्रिय प्रयास गर्दै आएका छन्। तर, यस शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आमन्त्रित नगरिएकाले तत्काल युद्धविरामको सम्भावना कमजोर रहेको विश्लेषण गरिएको छ।