राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् ।
सहकारी ठगीमा मुछिएका भैरहवा कारागारमा रहेका लामिछानेलाई लिङ्देनले मङ्गलवार दोस्रो पटक भेटेका हुन् ।
भेटमा सामान्य कुराकानी र राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको लिङ्देनले बताएका छन् । लिङ्देनले लामिछानेलाई उनले रोजेको कारागारमै राख्न आग्रहसमेत गरेका छन् । लिङ्देनले देशको एउटा महत्त्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको फेसबुकमा लेखेका छन् ।
उनले भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको पनि बताए । साथै, उनले गृहमन्त्री रमेश लेखकलाई काठमाडौं सार्न आग्रहसमेत गरेका छन् ।