Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आफ्नो असक्षमताका कारण गृहमन्त्रीले राजीनामा दिनुपर्छः अशोक कुमार चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले गृहमन्त्री रमेश लेखकको नेतृत्वमा रहेको गृहप्रशासन असफल भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।  मंगलबार बानेश्वरस्थित संसद भवन परिसदमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको असक्षमताका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको गृहप्रशासनको नेतृत्व माननीय रमेश लेखकले गरिरहेका छन् । उहाँ असफल गृहमन्त्री भनेर हामीले भनिरहेका छौ । सरकारको १३/१४ महिनाको गतिविधि हेरेर उहाँ असफल गृहमन्त्री बन्नुभयो र आफ्नो असक्षमताका कारण राजीनामा दिनुपर्छ । तर उहाँमा नैतिकता भन्ने कुरा देखिएको छैन । नैतिकता देखाएर उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

उनले कैलालीको कारागारमा घटेको घटनाप्रति गृह प्रशासन संवेदनशील नभएको भन्दै गैरजिम्मेवारी भएको बताए । ‘कैलालीको कारागारमा जुन घटना घट्यो त्यो घटना भनेको मानव अधिकार आयोगले पटक–पटक गृहमन्त्रालयलाई जानकारी गराउँदा गराउँदै पनि त्यसप्रति गृह प्रशासन संवेदनशील नभएको अवस्था देखिन्छ र त्यो भनेको गैरजिम्मेवारीपनको पराकाष्ठा हो,’ उनले भने ।