Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

देवघाट क्षेत्र विकास समितिमा पदाधिकारी नियुक्त, जिम्मेवारीसहित काम गर्न मन्त्री पाण्डेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।

सात सदस्यीय समितिमा दुई जना महिलासहितको समावेशी संरचना रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले देवघाट क्षेत्र गुरूकुलका गतिविधिका कारण चलायमान रहेको र त्यसले क्षेत्रको जीवन्तता कायम राखेको बताए । उनले भने- ' यदि गुरूकुल नै हटाइयो भने यहाँ शून्यता हुनेछ । त्यसैले नयाँ पुस्तामा ज्ञान, चेतना र पुनर्जागरण ल्याउने वातावरण निर्माण गर्नुपर्छ ।'

मन्त्री पाण्डेले देवघाटमा महाकुम्भजस्ता भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सम्भावना रहेको उल्लेख गर्दै वाग्मती र गण्डकी प्रदेश सरकारसँगको सहकार्यका साथै निजी क्षेत्रलाई आकर्षित गरी अवसर उपयोग गर्न सुझाव दिए ।

चितवन, नवलपुर र तनहुँजस्ता भौगोलिक तथा सामाजिक दृष्टिले अनुकूल स्थानमा अवस्थित देवघाटको पर्यटन र सांस्कृतिक महत्व अझ उचो बनाउन सकिने विश्वास व्यक्त गर्दै उनले समितिका पदाधिकारीलाई अनुकरणीय काम गर्न अपेक्षा गरे । 

सो अवसरमा मन्त्रालयका सचिव हरि मैनालीले राजधानीबाट नजिक र सुविधाजनक स्थानमा रहेको देवघाटले पर्यटन तथा सांस्कृतिक क्षेत्रमा थप प्रगति गर्ने विश्वास व्यक्त गरेका थिए ।

नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), यु कुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) रहेका छन् ।