Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रविजीको कोठामा पंखा छन्, झ्याल टालिएको रहेछ : आयोग

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण गर्न रोकिएको विषयमा गम्भीर चासो व्यक्त गरेको छ । आज भैरहवा कारागारमा पुगेर रविलाई भेटेपछि आयोगकी आयुक्त लिली थापाले यो गम्भीर विषय भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले कारागार सरुवाका लागि निवेदन दिएर अदालतले पनि अनुमति दिइसकेको रहेछ । तर, के कारणले हो अहिलेसम्म रोकिएको छ । यो गम्भीर विषय हो ।’ थापाले यस विषयमा काठमाडौं गएर कारागार व्यवस्थापन विभागसँग छलफल गर्ने पनि बताएकी छन् ।

‘रविजीको कोठामा पंखा छन्, झ्याल टालिएको रहेछ’
राष्ट्रिय मानवअधिकार आयोगकोे टोलीले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अनुगमन गरेको छ । अनुगमनपछि मानवअधिकार प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् ।

आयोगकी आयुक्त लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको जानकारी दिइन् ।

रविलाई राखिएको ब्लकभित्र राम्ररी हावा पास हुने अवस्था नदेखिएको उनको भनाइ छ । थापाले भनिन्, ‘उहाँ बस्ने कोठामा पंखा छ । तर झ्यालहरू टालिएको रहेछ । जेल प्रशासनले सुरक्षाका लागि टालिएको भन्नुभयो । हाम्रो आग्रहपछि त्यसलाई खोल्न तयार हुनु भएको छ ।’ आयुक्त थापाले अनुगमनका क्रममा सभापति लामिछानेसँग पनि कुराकानी गरिएको बताइन् ।

‘उहाँले अहिलेसम्म घुमफिर (बाहिर हिँडडुल) गर्न पाएको छैन । बाहिर गएर स्वच्छ हावा लिन पाउनु पर्‍यो, पत्रपत्रिका पढ्न पाउनु पर्‍यो, न्युज सुन्न पाउनु पर्‍यो भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्, ‘उहाँले कानुनी सहायता पनि लिन नपाएको, मुद्दा लड्न कानुन व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएको जस्ता कुरा पनि सुनाउनु भयो ।’

उनले कोठाभित्र एसी नदेखेको जानकारी दिइन् । कारागारमा पत्रपत्रिका नआउने भएकाले रवि समेत त्यो सुविधाबाट वञ्चित रहेको थापाले जानकारी दिइन् । इन्सेककी प्रतिनिधि रिमा बिसीले कोठाभित्र दुईवटा पंखा रहेको बताइन् ।

‘एउटा ठूलो फलामको पंखा र अर्को स्ट्यान्ड पंखा छ । झ्यालहरू चाहिँ खोलिएको छैन । नजिकै घरहरू भएको र सर्पदंशको डर भएकाले झ्यालहरू बन्द गरिएको प्रशासनले बताएको छ । तर हामीले मोटो जाली वा डन्डी राखेर भए पनि झ्याल खोल्न भन्यौ । उहाँहरूले स्वीकार्नु भएको छ,’ उनले सुनाइन् ।