Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

माधव नेपाललाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने सोचिरहेको छु, तर गलत बुझियोः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गरेका छन् ।

उनले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ ।

माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ ।

यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्वनमा छ ।

सम्मानित नेता खनालले यस्तो किसिमको बच्पना नदेखाउन पनि नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । ‘माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर कसरी बचाउने होला, उहाँको मुद्दालाई अनुकूल कसरी बनाउने होला । उहाँको प्रतिवादलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यही दिशामा छ,’ उनले भने ।

पार्टी नेताहरुले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभइ पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको उनले बताएका छन् । कतिपय नेता–कार्यकर्ताहरू माधव नेपाललाई मात्रै नभएर पार्टीलाई नै मुद्दा लागेको भन्ने गरेको उनले बताए ।

‘यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावना विपरितका कुराहरू पनि सुनिएका छन्,’ उनले भनेका छन् ।

सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरु गर्नु उचित नहुने उनको भनाइ छ । यस्तो प्रचार गर्दा अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर सम्मानित नेता खनालको छ । उनले भने, ‘उहाँले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनु भयो । म अचम्मित छु ।’ त्यसकारण परिपक्व काम गर्न भनेर प्रस्ताव नै प्रस्तुत गरेको उनले बताएका छन् ।

‘त्यो प्रस्ताव यो पार्टी जस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो । मैले माक्र्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रस्तुत गरेको छु । त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो । बच्पना पनि हुनेछ,’ उनले भने ।