Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रवि लामिछानेको पेसी आज, जमानतमा छुट्न तीन तर्क

बुटवलस्थित सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएको निवेदनको पेसी आजको लागि तोकिएको छ ।

लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ ।

लामिछाने बिगो वापतको दुई करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसयता उनी भैरहवा कारागारमा छन् ।

लामिछानेले १२ पेज लामो निवेदनमा तीन वटा विषयहरु मुख्य रुपमा उठाएका छन् । पहिलो, भैरहवास्थित कारागारको अवस्था अत्यन्त दयनीय र कष्टकर रहेको तथा आफूलाई कारागार स्थानान्तरण गर्नुपर्ने माग पनि सम्बोधन नभएको भन्दै उनले जमानतमा छुट्न माग गरेका छन् ।

दोस्रो राज्यले आफूविरुद्ध बदनियतपूर्वक मुद्दा चलाएको भन्दै उनले मुद्दामा आफूविरुद्ध प्रमाण नै नभएकाले थुनामुक्त हुनुपर्ने भनेका छन् । तेस्रो सहकारी ठगीको मुद्दामा मिलापत्रको व्यवस्था समेत रहेको भन्दै उनले आफूलाई हुनसक्ने अधिकतम विगो बापतको रकम पहिले नै बुझाउन तयार गरेको भन्दै कैदमुक्त गरिदिन माग गरेका छन् ।

उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा ६८, ६९ र ७१ उद्धृत गर्दै निवेदनमा भनेका छन्, ‘संगठित अपराध सम्बन्धी कसुरको असान्दर्भिक एवम् कुट्टा अभियोग दावीको हकमा साधारण तारिखमा रही मुद्दाको पुर्पक्ष गर्ने गरी आदेश गरीपाउँ ।’