Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेसको तीन बुँदे ‘ह्वीप’

असन्तुष्ट लामा पक्षको छुट्टै छलफल, सभापति देउवालाई भेट्दै

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले दलका नेता समेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन तीन बुँदे ‘ह्वीप’ जारी गरेको छ ।

२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।

दल नेता बानियाँले कांग्रेस संसदीय दलको ९ सदस्यीय कार्यसमिति गठन गरेसँगै बसेको बैठकले ह्वीप जारी गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन् ।

ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा आज दिउँसो बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

‘तीन बुँदामा ह्वीप जारी गर्ने निर्णय भएको छ । एउटा बैठकमा अनिवार्य उपस्थित हुने, दोस्रो तटस्थ नबस्ने र तेस्रो विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गर्ने निर्णय भएको हो,’ लामिछानेले सुनाए ।

दलको कार्यसमिति बैठकले प्रवक्तामा लामिछाने तोक्ने र ३ सदस्यीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको छ । अनुशासन समिति सदस्यमा लामिछाने, छिरिङ दोर्जे लामा र विनु रायमाझी पौडेल रहेका छन् । यस्तै बैठकले २७ साउन १ बजे कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा दलको बैठक राख्ने निर्णय गरेको लामिछानेले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँको नेतृत्वमा भैंसेपाटीमा दलको बैठक बसिरहँदा निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षको काठमाडौंमा छुट्टै बैठक बसिरहेको छ । विश्वासको मतको विषयमा छलफल गर्न लामा पक्ष छलफलमा जुटेको जनाइएको छ ।

मुख्यमन्त्री बानियाँले २० साउनमा अन्य मन्त्रीको नियुक्तिसँगै लामा पक्षका तीन जनालाई पनि मन्त्री नियुुक्त गर्नुपर्ने सहमति पालना नगरेको भन्दै लामा पक्ष असन्तुष्ट छ । लामा पक्षले आज पार्टी सभापति शेरबहादुर देउवा भेट्ने तयारी पनि गरेका छन् । आफूहरुको माग सम्बोधन नभए लामा पक्षका सांसदहरुले सामुहिक राजीनामा दिने समेत बताइरहेका छन् ।