Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मुसिकोट नगरपालिकाकी उपमेयर एमालेबाट निष्काशित

नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टीबाट निष्काशन गरेको छ।जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्काशन गरेको हो ।

जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् ।

एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि उमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो ।

तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभउको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो । निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम–कारबाही नगर्न चेतावनी दिइएको छ ।

श्रेष्ठले भने आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताउँदै आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको बताएकी छन् । श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख निर्वाचित भएकी हुन् । उनले पछिल्लो पटक मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । यहाँ मेयर पनि एमालेले नै जितेको छ । तर, उपमेयर श्रेष्ठ उनीसँग सहमत थिइनन् ।