Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रास्वपाले विदेशमा रहेका नेपालीको मताधिकारको व्यवस्था गर्न अभियान सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । त्यस्तै पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउन केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको छ ।

आजको बैठकले  पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ । उहाँले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिनु भएको थियो । पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरुमा देहायका जिम्मेवारीमा सदस्यहरुलाई मनोनयन गरेको छ । जसमा केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुखमा काठमाडौँका श्याम बाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा नवलपुरका गोकुल सापकोटा, मधेस प्रदेश समितिको सहमहामन्त्रीमा बाराका गणेश धिमाल र सिरहाकी पुनम शाह र केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा नवलपुरका ललित श्रेष्ठलाई जिम्मेवारी दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरू सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने र पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने पनि कार्यक्रम रहेको छ ।