Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

कांग्रेस शीर्ष नेतृत्वसँग देउवा छलफलमा

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल शुरू गरेका हुन् ।

महामन्त्री थापाको सचिवालय सदस्य शंकर कुइँकेलले समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बूढानीलकण्ठ बोलाएको जानकारी दिएका छन् । ‘मुख्य गरी कांग्रेसको आन्तरिक सदस्यतासहितका विषयमा छलफल गर्न बोलाएका बुझेका छौं,’ कुइँकेलले भने, ‘आन्तरिक विषयबाहेक समसामयिक राजनीति, सरकार सञ्चालनसहितका विषयमा छलफल भइरहेको बुझेका छौं ।’

गए राति गृहमन्त्री रमेश लेखकले महामन्त्रीद्वय थापा र शर्मासँग भेट गरेका थिए । पछिल्लो समय सरकारका कामको विषयमा महामन्त्रीद्वय असन्तुष्ट बन्दै आएका छन् । तर पनि सरकारको कामलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दुवै महामन्त्रीको भनाइ रहँदै आएका छन् । पछिल्लो समय महामन्त्रीद्वयले सदनबाट समेत सरकारलाई खबरदारी गर्दै आएका छन् ।