Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

भेरी नदीमा टिपर खस्दा बेपत्ता तीन जनाकै शव भेटियो

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १४ पिपलचौरमा भएको टिपर दुर्घटनामा परी ठूलीभेरी नदीमा बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार रुकुमपश्चिमको सानीभेरी गाउँपालिका– ३ निवासी ३३ वर्षीय धनवीर बिक, दाङका ४१ वर्षीय मनिराम चौधरी र रुकुम पूर्वको सिस्ने गाउँपालिका– ८ स्यालापाखाका २० वर्षीय हरि विकको शव फेला परेको हो । तीन जनाकै शव फरक फरक दिन सुर्खेतमा फेला परेको हो ।

यति बिल्डर्स प्रा।लि।मा जेसिभि अपरेटर पदमा कार्यरत धनवीरको शव सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– २ स्थित भेरी नदी किनारमा आइतबार बेलुका भेटिएको थियो । टिपर चालक मनिराम र जेसिभि हेल्पर हरिको शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका– २ खोचीस्थित भेरीनदी किनारमा फेला परेको थियो ।

गत मंगलबार साँझ आठबिसकोट नगरपालिका– १४ पीपलचौरस्थित भेरी कोरिडोर सडक खण्डबाट यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर भेरी नदीमा खसेको थियो ।