Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

जोखिममा रामेछापको भटौली खोलाको पक्की पुल

रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ।

मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी-४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनले भने, ‘खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएको छ, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्छ।’

सो विषयमा खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी गराइसकिएको उनले बताए। वर्षा याम सुरु भएसँगै खोलामा निरन्तर बाढी आइरहेकोले तत्काल संरक्षण नगरेमा पुल पुल बगाउने जोखिम रहेको वडाध्यक्ष पौडेलको भनाइ छ।