Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

चन्द्रागिरि नगरपालिका-५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ ।

छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति स्थापना गरिएको हो । ‘गाउँमै धार्मिक आयाम थपिएको छु’, विश्वविश्रामेश्वर १०९ शिवलिङ्ग विश्वधाम मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष श्यामलाल श्रेष्ठले भने, ‘कतिपयले यो सबै मूर्ति एउटै ढुङ्गामा होइन होला ?, जोडेको होला भनेर शङ्का गर्छन् तर होइन, म आफैँले धादिङको जुङ्गे खोलाबाट ल्याएको एउटै ढुङ्गामा मूर्तिकारले यो मूर्ति कुँदेका हुन् ।’

सात तहमा बनाइएको शिवलिङ्गको हरेक तहमा १०८ वटा नाग बनाइएको छ । अध्यक्ष श्रेष्ठले बुबा धनलाल र आमा न्हुच्छेमायाको चाहनाबाट निजी प्रयासमा यो मूर्ति बनाएको र यहाँ मन्दिर निर्माण जारी रहेको बताए । मन्दिर निर्माणलगायतमा स्वेच्छिक सहयोग गर्न सकिने श्रेष्ठले बताए । यहाँ ३० हजार १०५ सहयोग गर्नेको नाममा एउटा शिवलिङ्ग र आजीवन सदस्य रहने तथा तीन पुस्ताको नाम शिलापत्रमा राखिने जनाइएको छ । हाल यहाँ शिवपुराण ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । महायज्ञका संयोजक ध्रुवकुमार घिमिरेले गोसाइँकुण्डमा विश्राम गरिरहेका महादेवलाई यहाँ स्थापना गरिएको बताए । घिमिरेले भने, ‘गोसाइँ स्नान गर्ने बेलामा एक दृष्टिले हेर्दा महादेव सुतेको देखिन्छ, त्यसैको स्वरुप यहाँ बनाइएको हो ।’

मुख्यगरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न उद्देश्य रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । त्यसो त विश्रामेश्वर महादेव र मन्दिर निर्माण गर्नुमा विशेष कारण छ । श्यामलाल श्रेष्ठका बुबा धनलालले सपनामा यहाँ भगवान् शिवलाई सुतेको देखिरहन्थे । त्यसकारण उनले यहाँ मन्दिर बनाउन अनुरोध गरेका थिए । उनको निधनपछि आमा न्हुच्छेमायालाई पनि त्यही दृश्य झल्झली आइरह्यो । भर्खरै ८४ गरिएकी न्हुच्छेमायाले पनि मन्दिर बनाउन छोराहरुलाई अनुरोध गरिन् ।

उनीहरुकै चाहना पूरा गर्न आफूले मन्दिर निर्माण थालेको श्रेष्ठले बताए । सो ढुङ्गामा कलाकार काजी लामाले छ महिना लगाएर मूर्ति कुँदेका हुन् । त्यसका लागि श्यामलालले ३७ लाख कलाकारका लागि पारिश्रमिक दिएका छन् । करिब सात लाख ढुङ्गा यहाँसम्म ल्याउन खर्च लागेको उनको भनाइ छ । तरकारी ढुवानी व्यवसाय गर्ने श्रेष्ठले आमाको जिउनीबाट प्राप्त पैसा र त्यसमा थप लगानी गरेर मूर्तिसहितको मन्दिर निर्माण गरिरहेको र हालसम्म कतैबाट सहयोग प्राप्त नभएको बताए ।

महायज्ञ सुरु भएपछि यहाँ चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले सो मन्दिरको अवलोकन गरी नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय छिमेकी विष्णुप्रसाद लामिछानेले आफ्नो टोल छिमेकमा नयाँ मन्दिर निर्माण भएकाले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । आफूले पनि मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।