Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नागरिकमा ठूलो निरासा पैदा भएको छ: प्रचण्ड

‘जनताले सँधै तथ्यांक व्याख्या मात्रै सुनिरहँदैनन्’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ ले राजनीतिक दलहरूले आफ्ना कमजोरी समीक्षा गर्नैपर्ने बताएका छन् । नेपाल खबर नेपाल राइजिङ समिट २०२५ अन्तर्गत मिसन ०८४, दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालसँगको संवादमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आम नागरिकमा ठूलो निरासा पैदा हुँदै गएको बताएका छन् । ‘अहिले भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको छ । किन यति धेरै बढ्यो । अराजकता र बेथिति पनि सबैतिर ब्युरोकेसी, जुडिसियरीदेखि, लेजिस्लेटिप सबै संस्थाहरू यो अराजकता के कारणले बढेको छ भन्ने कुराको समीक्षा हुन जरुरी छ,’ उनले भने ।

‘हामीले मिहिनेत गरे प्रगति गर्न सकिन्छ । भन्ने एउटा गर्ने अर्को गर्दा समस्या हुँदै आएको हो । आफ्ना कमजोरी समीक्षा गर्नेतिर गएनौँ भने जनतालाई तथ्यांकको व्याख्या गरेर मात्र राख्न सक्दैनौँ । व्याख्या मात्रै सुनिरहँदैनन्,’ उनले भने ।’ उनले पछिल्लो पटक सरकारबाट बाहिरिन परेकोमा गुनासो गरेका छन् ।

‘पछिल्लो सरकार, त्यसपछि बाहिरिनुपर्ने अवस्थाबारे बोल्दा हामीले के चाहिँ त्यस्तो गर्‍यौं, जसले गर्दा हामीलाई हटाउनु पर्ने अवस्था आयो ? त्यतिबेला यति भ्रष्टाचार भयो भन्ने अहिले जति भ्रष्टाचार भयो भन्ने देखिँदैन,’ उनले भने, ‘हामीले हेर्ने सकारात्मक के प्राप्त भयो गणतन्त्रपछि भन्ने हेर्नैपर्छ । तर हाम्रो ध्यान कमी कहाँ भयो भन्नेमा छ । हामीले गर्न नसकेको के हो ? २–२ पटक संविधानसभा निर्वाचन गरेर गणतन्त्र बनायौँ । त्यहाँ शिक्षा, स्वास्थ्य जस्तालाई जनताको मौलिक अधिकार भन्यौँ तर कार्यान्वयनमा कहाँ चुक्यौँ त? कमी कहाँ भयो भन्नेमा गयौँ भने सुधारतर्फ जान सक्छौं ।’

उनले शिक्षा क्षेत्रको सुधार गर्न चुकेको, सुझाव प्रतिवेदन लुकाइएको भन्दै थपे, ‘प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन बनाइहाल्नु पर्ने थियो । सकेनौं ।’