Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

चाक्सीबारी छलफलपछि देउवा निवासमा जुटे नेताहरू

नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । हिजो (सोमबार) उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलको निष्कर्ष पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराउन उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।

सोमबार नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजय गच्छदार र डा. प्रकाशशरण महत चाक्सीबारीमा जुटेका थिए । छलफलमा उनीहरूले एमाले–कांग्रेसको सहमतिअनुसार संविधान संशोधनसहितका कामहरू अघि नबढेको, सभापति देउवाले पनि गम्भीर विषयमा आफूहरूसँग छलफल नगरेको र नेता शेखर कोइरालाको सक्रियताको विषयमा छलफल गरेका थिए ।

यस विषयमा उनीहरूले देउवासँगै भेटेर कुरा गर्ने निष्कर्ष पनि निकालेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको ७ बुँदे सहमतिअनुसार गठबन्धनको भावनाबमोजिम सरकारले काम कारबाही गर्नुपर्ने र संविधान संशोधनका विषय अघि बढाउनु पर्ने पूर्व पदाधिकारीहरूको निष्कर्ष थियो ।

सोहीअनुसार आज उनीहरू देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।