Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

दलितहरुको मुद्दा सम्बोधन गर्न अलग्गै राजनीतिक शक्ति आवश्यक छ: डा.निर्मल विश्वकर्मा

जातीय विभेद र छुवाछुत पूर्ण रुपमा राजनीतिक मुद्दा हो, दलितहरुबीच एकता नभए मुद्दा ओझेल पर्नेछ

दक्षिण अफ्रिकाका लागि पूर्वराजदूत तथा सामाजिक ‘न्याय अभियन्ता’ डाक्टर निर्मल विश्वकर्मा पछिल्लो समय समावेशीकरणका मुद्दामा वहस पैरवी गर्दै आइरहेका छन् । विशेषगरी दलित समुदायको एकता र सशक्तीकरणका सवालमा आवाज उठाउँदै आएका डा.विश्वकर्माकै अगुवाइमा हालै प्रथम राष्ट्रिय दलित गोलमेच सम्मेलनको पनि आयोजना गरिएको छ । उनले दलितहरुबीचको एकता कायम गराउन दलित आन्दोलनलाई नयाँ दिशा दिनुपर्ने र राजनीतिक शक्तिकै रुपमा स्थापित हुनुपर्ने कुरालाई जोड दिंदै आएका छन् । यसै सिलसिलामा समावेशीकरण र दलित समूदायको भावी कार्यदिशालगायतका सवालमा गरेको कुराकानी ।

नेपालको संविधान धेरै लोकतान्त्रिक र व्यवहारिक छ भनिन्छ । संविधानले समावेशीकरणको मुद्दालाई कसरी सम्बोधन गरेको छ र कार्यान्वयनको अवस्थालाई कसरी हेरिरहनुभएको छ ? 
नेपालमा २०७२ मा जुन सविधान निर्माण भयो त्यो संविधान आफैंमा समावेशी छ । विश्वकै राम्रो संविधान पनि भनिएको छ । लेखन र राखिएको प्रावधानको हिसाबले संविधान उत्कृष्ट छ र समावेशीकरणका हिसाबले पनि राम्रो छ । यसलाई उदाहरणीय नै मान्नुपर्छ ।प्रावधान पनि अत्ति उत्तम छन् । तर यसको कार्यान्वयनको पाटोमा सन्तोष मान्न सकिदैन् । निर्माणको १० वर्ष हुन लाग्यो तर समावेशीकरणको मुद्दा कार्यान्वयनमा चुकेको पाइन्छ । समावेशीकरणको मुद्दामा जसरी सम्बोधन हुनुपर्ने हो, जसरी कार्यान्वयन हुनुपर्ने हो त्यो हुन सकेको छैन् । दलितहरुको सन्दर्भमा पनि थुप्रै समस्याहरु छन् ।

यतिबेलाको सन्दर्भमा समुदायको समावेशीकरणको मुद्दामा संविधानको धारा २४ र धारा ४० विशेष रुपमा बहस गर्न जरुरी छ । धारा 
२४ मा जुन जातीय छुवाछुतसँग सम्बन्धित प्रावधानहरु छन् त्यसको कार्यान्वयनको लागि ऐन र नियमावली पनि निर्माण भएको छ । त्यो हिसाबले धारा २४ को कार्यान्वयन भएको छ भन्ने मान्नुपर्छ । तर दलित समुदायको लागि महत्वपूर्णचाँही धारा ४० हो । समानुपातिक समावेशीको मुद्दामा शिक्षा र स्वास्थ्यको कुरा महत्वपूर्ण छ । जग्गा, जमिन वितरण गर्ने, परम्परागत पेसाको आधुनिकीकरण गर्ने कुराहरु पनि छन् । त्यसैले यो धारा दलितको महत्वपूर्ण मौलिक हक हो । तर यसको कार्यान्वयन हुनै सकेन ।  एक त यो संविधानमा नै षड्यन्त्र भएजस्तो छ । अरु कुनै पनि धारामा कानुन बनाएर यसलाई कार्यान्वयन गरिएको छैन् ।  धारा ४० मा दलितको हक छ, त्यसमा मात्रै कानुन बनाएर कार्यान्वयन गर्ने भनियो । निर्माण प्रकृयामा नै षड्यन्त्र गरेर धोका दिएजस्तो लाग्छ ।

Photo (1) (1).jpg

अहिलेसम्म ऐन पनि बनाएको छैन् । त्यसैले दलित समुदायको हक अधिकार जति सुरक्षित हुनुपर्ने हो त्यो भएको छन् । नेपालमा १४ प्रतिशत दलितको जनसंख्या छ । यति महत्वपूर्ण जनसंख्या देशको हरेक संरचनामा सहभागिता अहिलेपनि हेर्ने हो भने १.९ प्रतिशत मात्र उनीहरुको प्रतिनिधित्व छ । नेपालकै पूरै सम्पत्ति जग्गाको कुरा गर्दा दलित समुदायको स्वामित्वमा १.१० प्रतिशत मात्र हिस्सेदारी छ । यसले दलित समुदायको दर्दानक अवस्था देखाउँछ । 

१० वर्षको अन्तरालमा दलितको प्रतिनिधित्व र सम्पत्ति ट्रान्सफर हुनुपर्ने हो त्यति हुन सकेको छैन्  । दलित  समुदायको हकमा समावेशीकरणको आशा थियो त्यो हुन सकेको छैन् । यस्तो खालको समावेशीकरणको मुद्दा कार्यान्वयन गर्ने त राज्यसत्ता हो । राजनीतिक पार्टीहरु हो । उनीहरुको नीति एवम नियत विश्लेषण गर्ने हो भने समावेशीकरणको मुद्दामा सकारात्मक भएको देखिँदैन् । कतिपय मामिलामा त शासक वर्गहरु दलित समुदायको मुद्दामा नकारात्मक हिसाबले पछाडितिर गएको देखिन्छ । अहिले पनि २५ जनाको मन्त्रिपरिषद् छ । तर एक जनाको पनि दलित प्रतिनिधित्व छैन् ।

अहिले भूमि सुधारको कुराहरु आइरहेको छ । संविधान अनुसार दलित समुदायलाई मात्रै भूमि दिने भनेको थियो । अहिले भूमिको कुरा दलित, सुकुम्बासी र अव्यवस्थित भएर तोडमोड गर्ने काम भयो । संविधानले प्राथमिकता दिएको विषय नै तोडमोड भयो । वास्तविक सुकुम्वासी दलितहरु छन् तर प्राथमिकता अन्तै पारियो । छुवाछुतको अवस्था चाहीं घटेको छ र पञ्चायत कालमा जस्तो छैन् । सार्वजनिक स्थलमा हेर्नुहुन्छ भने कहीं पनि छुवाछुत छैन् । घरमा पनि धेरैजसो घटेको छ । मानिसमा चेतना विकास भएको छ । दलित समुदाय पनि केही सुधार भएका छन् । मानवतालाई प्राथमिकता दिनुपर्छ जात भनेको केही होइन् भन्ने मानसिकताको विकास भएको छ । जातिय विभेद सामाजिक अपराध हो । यो गर्न हुँदैन् भन्ने मान्छेमा चेतना छ । जातिय घट्नाहरु बढेका छैनन् तर विभेद सतहमा आउने जुन प्रकृया हो त्यो चाँही बढेको छ । अहिले मिडिया अर्थात सञ्चारमाध्यम विकास भइरहेको छन् । त्यसैले घट्ना घट्यो भने बाहिर आइहाल्छ । त्यसले गर्दा अलिकति बढ्यो कि भन्ने लाग्छ तर जातीय छुवाछुतको घट्ना पहिले भन्दा घटेको छ । 

तर दलित–दलितबीचमा पनि विभेद देखिन्छ । दलितहरु आफैं एकताबद्ध हुन सकिरहेका छैनन् । यस्तो अवस्थामा समग्र समूदायका मुद्दाहरु कसरी सम्बोधन हुन सक्ला ?  
जातीय जुन विभेद छ त्यो संरचनागत समस्या हो । हिन्दु जातिवादी संरचनाले सृजना गरेको समस्या हो । समुदायलाई दुई तहमा गैरदलित र दलितमा विभाजित गरियो । गैरदलितमा पानी छोएको नखाने भन्ने छैन्  । तर दलित समूदायका बीचमा विभिन्न जातजाति छन् र उनीहरुबीचमा नै छुवाछुत छ । आफैंमा छुवाछुत भएपछि एक हुन सक्ने अवस्था रहेन । एक हुन नसक्ने कारणले दलित समुदायमा पनि छुवाछुत विकराल रुपमा छ ।

अर्को कुरा दलित समुदायमा धनी र गरिब बीचको विभेद अहिलेसम्म देखिएको छैन् । तर समुदायमा विभेद कहाँनिर छ भने एउटा जातिगत विभेद छ, अर्को भनेको पहाडी र तराइका दलितहरुका बीचमा विभेद छ ।  समूदायको अन्तर विभेद गैरदलित र दलित बीचको विभेदभन्दा जटिल अवस्थामा छ । यीनिहरु आपसमा नै छुवाछुत गर्ने हुनाले यो एकदमै ठूलो समस्याको रुपमा रहेको छ । यसलाई न्यूनीकरण नगरी जातीय विभेद, छुवाछुतलाई हटाउन सकिदैँन् ।

Photo (2) (2).jpg

दलित समूदाय शूद्र भएका कारण छुवाछुत गरिएको भनिएको छ । छुवाछुतको सवाललाई धर्मले कुन रुपले हेरेको छ ?
जातीय विभेद र छुवाछुत पूर्ण रुपमा राजनीतिक मुद्दा हो । पछिमात्र धर्म संस्कारसँग जोड्ने काम गरियो । वास्तवमा शूद्र भनेको दास हो । दास भनेको मालिकको घरमा काम गर्ने मान्छे हो । काम गर्ने मान्छेलाई कसैले अछुत भन्छ र । बाह्मण, क्षेत्री, वैश्य र शूद्रअन्तरगत भएकाले अछुत भएको होइन् । यो पूर्ण रुपमा राजनीतिक मुद्दा हो ।

राजनीतिक हिसाबले शासक वर्गले भनेको जसले मानेन्, शासक वर्गसँग जो हार्यो, जसले विद्रोह गर्यो, विद्रोह गर्ने मान्छे शूद्रपनि हुनसक्छ । बाह्मण, क्षेत्री, वैश्य पनि हुन सक्छ । राजनीतिक रुपमा जो विद्रोही बन्यो त्यो अछुतमा पर्यो होला । नेपालको दलित समूदाय वर्ण व्यवस्थाभित्रकै दलित होइन् । इतिहास हेर्ने हो भने छुवाछुत कसरी सुरु भयो भने हिन्दु धर्मग्रन्थ अनुसार हेर्दा पनि सबैभन्दा पहिला रामायणकालमा छुवाछुत भएको थियो । छुवाछुत धर्मभन्दा पनि राजनीतिक मुद्दाको सबाल हो ।

नेपालमा गणतन्त्रको अभ्यास भइरहेको छ । यही लोकतान्त्रिक गणतान्त्रिक मुलुकमा विभिन्न राजनीतिक दलहरु छन् । ति दलहरुले आफ्नो विधान, घोषणापत्रहरुमा दलितहरुलाई कुन रुपमा सम्बोधन गरिरहेका छन्, तपाईले कस्तो पाउनु भएको छ ?
राजनीतिक पार्टी र उनीहरुको नेतृत्व नीतिहरु चरणमा त्यति सकारात्मक छैनन् । दलित समुदायको मुद्दामा सकारात्मक देखिएका छैनन् । किनभने सुरुमा उनीहरुले आन्दोलन, युद्ध र संघर्ष गर्ने बेलामा दलित समुदायको आवश्यकता थियो । आवश्यकता भएको बेला उनीहरुले दलित समुदायको मुद्दालाई आफ्नो विधान, कार्ययोजना र कार्यक्रमहरुमा समावेश गरेको देखिन्छ । तर मुख्य राजनीतिक पार्टीहरु सत्तामा आइसकेपछि यस्ता मुद्दालाई छाडेको देखिन्छ ।

कतिपय दलका विधानहरु हेर्नुभयो भने दलित भन्ने शब्द नै भेटाउन सकिदैन् । मुख्य पार्टीहरुको विधानमा पनि दलित भन्ने शब्द नै पाइँदैन । दलित भन्ने शब्द नै हटाउनुपर्छ भन्ने मान्यतामा पार्टीहरु गइरहेका छन् । त्यसको विकल्पमा अन्य कुनै शब्द राखे पनि हुन्छ, तर त्यो पनि राखेको पाइँदैन् । पछिल्लो चरणमा समुदायको मुद्दाहरु राजनीतिक पार्टीहरुले छाडेको अवस्था छ । 

दलित अधिकारका सवालमा तपाईहरुले जुन अभियानहरु चलाइरहनु भएको छ, यस्ता अभियानहरुले दलितहरुको आन्दोलनलाई कतिको सहयोग पु¥याएको छ ?
दलित समुदाय वा छुवाछुतको मुद्दा भनेको राजनीतिक मुद्दा हो । दलित समुदायको समस्या भनेका दलितका समस्या हुन् । समुदायको समस्या समाधान गर्ने राज्य संस्थाले नै हो । जबसम्म दलित समुदायको आफ्नै प्रकारको राज्य सत्ताको निर्माण हुँदैन, तबसम्म दलित समुदायको मुद्दा सम्बोधन हुँदैनन् । अहिलेसम्म समुदायका आन्दोलन र अभियान सँधै सञ्चालन भइरहेका छन् । यसमा हाम्रो पनि सहयोग छ । तर दलित समुदायको मुद्दा ठोस र दिर्घकालिन रुपमा समाधान गर्न सकिएको छैन् । 

दलित समुदायको आफ्नै प्रकारको राज्यसत्ताको कुरा गर्नुभयो, त्यसका लागि अलग्गै राजनीतिक शक्ति निर्माण हुनुपर्छ भन्नुभएको हो ?
हो, अलग्गै शक्ति आवश्यक छ । तर समुदायको छुट्टै राजनीतिक शक्ति भनेको दलित मात्र मिलेर राजनीतिक शक्ति निर्माण गर्ने भनेको होइन । दलित मुद्दालाई सम्बोधन हुनेगरी कुनैपनि प्रकारको राजनीतिक शक्ति निर्माण नेपालमा आवश्यक देखिन्छ । नेपालमा दलित समुदायको मुद्दा सम्बोधन गर्नको लागि कुनैपनि प्रकारको राजनीतिक शक्ति भयो भने मात्रै मुद्दाहरु सम्बोधन हुन्छ । समूदायको मुद्दा दलितको मात्रै होइन्, सम्पूर्ण सर्वहाराको मुद्दा हो । त्यसैले सबै मिलेर एउटा राजनीतिक शक्ति निर्माण गर्न आवश्यक छ । त्यो निर्माण भयो भने मात्र दलित समुदायको मुद्दा सम्बोधन हुन्छ कि भन्ने बुझाइ हो । यस्तै मुद्दाहरु अघि बढाउन हामीले गोलमेच सम्मेलन पनि आयोजना गरेका थियौं । नेपालका लागि ऐतिहासिक मानिएको गोलमेच सम्मेलनको निष्कर्षपनि अलग्गै शक्ति आवश्यक पर्छ नै भन्ने छ । 

Photo (3) (2).jpg
हाल नेपालका राजनीतिक दलहरुले समाजवादी र साम्यवादी व्यवस्थाको चर्चा गर्ने गर्छन् ।  ति मध्ये कुन वाद दलित, अल्पसंख्यक वा सिमान्तकृत समुदायका लागि उपयुक्त होला ? 
स्वभाविक रुपमा समाजवाद नै हो । समाजवादी धाराले नै सबै प्रकारका मुद्दाहरु सम्बोधन गर्न सक्छ । त्यसमा हामी स्पष्ट छौ । पूँजीवादको विकासका क्रममा उत्पादनका स्रोतहरु र उत्पादनहरु एकैठाउँमा जम्मा भएपनि समान वितरण हुन सकेन् । पूँजीपतिहरुले जति कमाए सबैले कुम्ल्याउने र आफू धनी हुने बाटोमा लागे तर त्यसको पुनःवितरण गर्ने बाटोमा लागेनन् । पुनःवितरण नभएको सवाललाई सम्बोधन गर्ने भनेको समाजवादले नै हो । समाजवादको मूल उद्देश्य भनेको उत्पादनका स्रोतहरुको पुनःवितरण गर्ने नै हो । त्यसैले हामी जस्ता दलित, उत्पीडित वर्गले खोजेको भनेको राज्यका स्रोतहरु हो । उत्पादनका स्रोतहरुको पुनःवितरण नै होस भन्ने हो ।

जतिपनि वस्तु वा सेवाहरु उत्पादन हुन्छ त्यो उत्पीडित वर्ग सामु पुगोस् भन्ने हो । यसलाई समाजवादले मात्र पूरा गर्छ । समाजवाद भित्रपनि विभिन्न मोडलहरु हुन्छन् त्यसमध्ये हामीले भनेको सामूदायिक समाजवाद हो । यो नयाँ समाजवाद होइन, नेपालको इतिहासमा नाग वंश, खस वंश, गोपाल वंश, किरात, महिषपालहरुले शासन गर्दै आए । त्यस समयमा समूदाय समूदाय मिलेर विभिन्न कामहरु गरेको इतिहास छ । सामूदायिक समाजवाद भनेको नेपालको मौलिक समाजवाद हो । अहिले पनि सामूदायिक वन, खानेपानी उपभोक्ता समितिहरुले जुन मोडेलमा काम गरिरहेका छन् त्यो सामूदायिक समाजवादसँग मेल खानसक्छ । 

दलितहरुको मुद्दा सम्बोधन गर्नका लागि अब के–के गर्नुपर्ला ?
दलितहरुको मुद्दा सम्बोधन गर्नका दलितहरुभित्र नै एकता हुनुपर्छ । दलित समुदाय बीचको विभेदको अन्त्य हुनुपर्छ । दलित समूदायहरु बीचको समस्या समाधान हुनुपर्छ । दलित समुदायहरुको विभिन्न समाजहरु छन्, जस्तै विश्वकर्मा समाज, परियार समाज, डुम समाजहरु छन् । ति समाजहरुको कुनै एउटा संरचना छ । जस्तो महासंघ होला । त्यसमध्ये पनि विश्वकर्मा समुदायलाई ठुलो मानिन्छ । विश्वकर्मा समुदाय जनसंख्याको हिसावले पनि दलित समुदायहरुमा ठुलो जनसंख्या हो । विश्वकर्मा समुदाय दलितहरुभित्रको छुवाछुतका लागि विश्वकर्मा समुदाय संवेदनशिल हुनुपर्छ, निर्दयी पनि हुनुपर्छ । अहिले दलित शब्द हटाउने बहस चलिरहेको छ । तर यसमा दलित शब्द हटे दलितभित्रको एकता पनि हट्छ । यसले झन समस्या सिर्जना गर्छ । दलित शब्द अछुत भन्ने भाष्य पनि गलत छ । दलित समुदायलाई राज्यले कायम गर्नुपर्छ । दलित र गैर दलितबीचको विवाहलाई प्रोत्साह गर्न विभिन्न सुविधाहरु उपलब्ध गराउने, कर छुट दिने, रोजगारमा प्रोत्साहन दिने जस्ता कार्यक्रमहरु अघि सार्नुपर्छ । 

अन्त्यमा, एकजना खगेन्द्र सुनार नामक युवाले ‘दलितका लागि खै ?’ अभियान चलाइरहनु भएको छ । त्यो अभियानका मुद्दाबारे राज्यले एक इन्चपनि सुनेको छैन् । त्यो अभियानको सार्थकता र औचित्य के होला ? 
खगेन्द्र सुनार र हामीसँगै छौ । उहाँले उठाउनुभएका कतिपय मुद्दाहरु हाम्रापनि मुद्दा हुन् । हामीले आयोजना गरेको गोलमेच सम्मेलनमा उहाँ पनि सचिवालय सदस्य हुनुहुन्थ्यो । खगेन्द्र सुनारले जुन आन्दोलन गर्नुभएको छ त्यसलाई सकारात्मक हिसावले लिएका छौ । एक प्रकारको जागरण पैदा गर्न त्यस्तो उत्साह आवश्यक छ तर सँधै अभियानले मात्रै निकास दिंदैन । त्यसलाई संरचनामा ढाल्नुपर्छ । त्यसलाई नीति निर्माण प्रक्रियासँग जोड्नुपर्छ । दलित समुदायको मुक्ति यतिकै लहडको भरमा हुँदैन र लहडकै भरमा अन्त्य पनि हुँदैन । यसलाई अन्त्य गर्नका लागि निश्चित बाटो, दर्शन, सिद्धान्त, दिर्घकालिन र अल्पकालिन कार्यनीतिहरु निर्माण गरेर अगाडि बढ्नुपर्छ । खगेन्द्र सुनारको आन्दोलन कुनै र कुनै दर्शन, सिद्धान्त, दिर्घकालिन र अल्पकालिन कार्यनीतिहरुसँग जोडेर लैजानसके राम्रो हुन्छ । उहाँले जे गरिरहुनु भएको छ, त्यो ठिक छ । त्यसमा हामीजस्ता बौद्धिक व्यक्तिहरु मिलेर अभियानलाई संयुक्त रुपमा अगाडि बढाउन सके त्यसले सकरात्मक भूमिका खेल्नेछ ।