Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु, तीन जना घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारका क्रममा आज मृत्यु भएको हो ।

बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा उपचार भइरहेको छ ।

मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार जारी छ ।