Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

प्रधानसेनापतिद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापतिले उनलाई बढुवा भएको पद सहायकरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषदले उनलाई गत असार ३० गते सहायकरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनाले सहायकरथी झालाई काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उनि गत चैत १२ देखि सोही आयोजनाको जिम्मेवारीमा थिए ।

काठमाडौँ–तराईरमधेस द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ । आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ ।

आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् । यसअघि झासँग कटारी–ओखलढुङगा, वेनी –जोमसोम, मुसिकोट बुर्तीबाङ सडक आयोजनाको नेतृत्व गरी जिम्मेवारी पुरा गरिसकेका अनुभव छ ।

यसैगरी, सहायकरथीमा बढुवा भएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति हुनभएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो ।