Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वीरगञ्जमा निःशुल्क धारा जडान र धरौटी शुल्कमा छुटः जनताको पहुँचमा सहज खानेपानी सेवा

खानेपानी मन्त्रालय अन्तरगतको नेपाल खानेपानी संस्थान र वीरगञ्ज महानगरपालिकाबीच वीरगञ्जमा खानेपानी सेवा विस्तारका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष उपस्थितिमा नेपाल खानेपानी संस्थानका तर्फबाट महाप्रवन्धक अर्जुनबाबु ढकाल तथा वीरगञ्ज महानगरपालिका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
 
उक्त समझदारी अनुरूप अबदेखि नयाँ उपभोक्ताहरूलाई धारा जडान प्रक्रिया सहज, सरल र प्रभावकारी बनाइने तथा सेवा लिने नागरिकहरूलाई निःशुल्क धारा जडान गरी नयाँ जडानका लागि लाग्ने धरौटी शुल्कमा छुट प्रदान गरिने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए ।

उनले भने, ‘संस्थानको वीरगञ्ज शाखामा आवश्यक जनशक्ति अभिवृद्धि गरिनेछ, जसबाट त्यहाँको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्नेछ ।’ आज यस समझदारीपत्र हस्ताक्षरले वीरगञ्जबासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने विश्वास लिईएको मन्त्री यादवले बताए । 
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेशका जिल्लामा दिनप्रतिदिन विकराल बन्दै गएको खानेपानी समस्याको तत्काल तथा दीर्घकालीन समाधानका लागि मन्त्रालय, विभाग तथा खानेपानी संस्थान अहोरात्र खटिएको पनि उनले जानकारी दिए ।