शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

    १- नेकपा एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनको विषयलाई प्रवेश गराएका छन् । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष ओलीले भण्डारीको विषयमा कुरा राखेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । भट्टराईले भने- उहाँले पार्टीको सिस्टम बुझ्नु भएको छ र फर्किन्छु भनेर आफ्नो सेवा सुबिधा त्यागेर आनुहुन्छ भने अब यो पार्टीको विषय हो । अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौँ भन्नुभएको छ । आजको बैठकमा भ्याइएन भनेपनि अर्को बैठकमा छलफल हुन्छ । यो पार्टीको छलफलको विषय भइसक्यो। छलफल गरेर टुङ्गो लाग्छ ।'

    २- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् । पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका हुन् । उनले भनेका छन्- 'अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने सकिने अवस्था छैन । किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन ।' 

    ३- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गरिएको बताए । उनले भने- 'आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्। कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ । अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन् । मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ । जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन् । सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।'

    ४- गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन् । बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए ।

    ५- नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ । प्रमुख सचेतक भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएपछि एमालेले प्रमुख सचेतकको जिम्मेवारी भट्टराईलाई दिएको हो । 

    ६- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत 'श्रम र उत्पादनमा वाइसिएल अभियान' को औपचारिक उद्घाटन गरेका छन् ।  कार्यक्रममा प्रचण्डले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरेका थिए । प्रचण्डले वाइसिएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रिय रूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको 'उत्पादन ब्रिगेड' को निरन्तरता र एक महत्वपूर्ण आयाम भएको उल्लेख गरे ।

    ७- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम तोकिएको समयमा सम्पन्न नहुदा हर्जाना तिरेर काम गरिरहेको बताएका छन् ।  प्रधनमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै सरकारी निर्माण सम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेको बताएका छन् । रंगशालाको मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग फागुन १९ र २२ गते सम्झौता भएको थियो । प्यारापिटको लागि ४९ करोड २५ लाख र फ्लडलाइटको लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो । सहरी विकास मन्त्रालयका अनुसार ठेकेदार कम्पनीले सम्झौताअनुसार काम समयमा नसकाएका कारण दैनिक जरिवाना लागु भएको छ । सम्झौतामा योजनाको कुल लागतको ०.०५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने व्यवस्था छ, जसअनुसार ठेकेदार कम्पनिले दैनिक करिब दुई लाख जरिवाना तिरेर अहिले द्रुतगतिमा काम गरिरहेको छ ।

    ८- बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले विपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  

    ९- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ७५.८४ अंकले बढेर २८७०.६३  विन्दुमा रोकिएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    १०- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा ३ सयले बढेर तोलाको एक लाख ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको २२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    ११- आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।  आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । 

    १२- यूएईको जेलमा रहेका १२० नेपाली नागरिकले आममाफी पाएका छन् । यूएईको आवुधावीस्थित नेपाली राजदूतावासले यूएई सरकारले ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर जेलमा रहेका १२० नेपालीको बाँकी सजाय मिनाहा गरी आममाफी दिएको जानकारी दिएको हो ।

    १३- बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरेका थिए । जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो । यस अघि नेपालले श्रीलंकालाई ७-० गोल अन्तरमै पराजित गरेको थियो । त्यस्तै भुटानलाई ६-१ ले पराजित गरेको थियो भने बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १९ मा भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

    १४-  नेपाली राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्प शुरु भएको छ । एसीसी पुरुष टी-२०  विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको हो । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण शुरु गरेका छन् । एशिया आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने पुरुष टी-२० विश्वकपको एशिया र इष्ट एशिया प्यासिफिक छनौटमा नेपाल समुह बी मा परेको छ । समुह विभाजनमा नेपालको समुहमा जापान र कुवेत रहेका छन् । 

    १५- स्पेनिस क्लब बार्सिलोनाले आफ्नो आइकोनिक १० नम्बर जर्सी युवा खेलाडी लामिन यमललाई दिएको छ । १८ बर्षिय यमलसँग २०३१ सम्म सम्झौता गरेपछि बार्सिलोनाले उनलाई १० नम्बर जर्सी दिएको हो । १० नम्बर जर्सी यसअघि अन्सु फातीले लगाउदै आएपनि उनले क्लब छोडेपछि यो खाली रहेको थियो । फाती लोनमा फ्रेन्च क्लब मोनाकोमा गएका छन् । बार्सिलोनामा १० नम्बर जर्सीलाई विशेष मानिन्छ । यस अघि यो नम्बरको जर्सी लियोनेल मेसी, रोनाल्डिन्हो र डिएगो म्याराडोना जस्ता लिजेण्ड खेलाडीले लगाएका थिए ।

    १६- इटाली जारी महिला युरोकपको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको हो । इटालीको जितमा क्रिस्टियाना गिरेलीले दुवै गोल गरेकी थिइन् । त्यस्तै नर्वेका लागि एक गोल अदा हेगेरबर्गले एक गोल गरेकी थिइन् । अब सेमिफाइनलमा इटालीले स्विडेन र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ । यो सेमिफाइनल खेल जुलाई २२ मा हुदैछ ।

    १७-  नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबबाट खेल्ने भएकी छन् ।  साम्बाले अस्ट्रेलियाको प्रिमियर वुमन लिग निन्जा ए लिग खेल्न वेलिंगटन फिनिक्स फुटबल क्लबसँग दुई बर्षको सम्झौता गरेकी हुन् । क्लबले साम्बालाई दुई बर्षका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । यसअघि साम्बाले दुई सिजन फ्रान्सको ए डिभिजन वुमन लिगमा इए गुइङ्ग्याम्पबाट खेलेकी थिइन् । साम्बाले गुइङ्ग्याम्पमा दुई सिजनमा २९ खेलमा ७ गोल गरेकी थिइन् ।   

    १८- इराकको कात शहरको एक शपिङ मलमा भएको भीषण आगलागीमा ६१ जनाको मृत्यु भएको छ । अल जजिराका अनुसार मल भित्र रहेका ४५ जना भन्दा बढीको उद्धार गरिएको छ ।

    १९- युलिया स्वीरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छिन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सिफारिसमा उनको नाम युक्रेनी संसदले अनुमोदन गरेको हो । युलिया यसअघि उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन् । ३९ वर्षकी युलिया पेशाले अर्थशास्त्री हुन् । उनले २०२० देखि प्रधानमन्त्री पद सम्हालेका डेनिस श्मीहालको स्थान लिएकी छिन् । उपप्रधानमन्त्रीको रूपमा, स्वीरिडेन्कोले यस वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग खनिज सम्झौता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, त्यसपछि उनको अत्यधिक प्रशंसा भएको थियो ।

    २०- अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले इरानी कूटनीतिज्ञ रेजा अमिरी मोघदमलाई आफ्नो मोस्ट वान्टेड सूचीमा थपेको छ । मोघदम हाल पाकिस्तानका लागि इरानका राजदूत रहेका छन् । मोघदममाथि २००७ मा अवकाशप्राप्त अमेरिकी एफबीआई एजेन्ट रोबर्ट लेभिन्सनको अपहरणको योजना बनाउन र ढाकछोप गर्न प्रमुख भूमिका खेलेको आरोप छ । लेभिन्सन मार्च ८, २००७ मा इरानको किश टापुमा पुगे र भोलिपल्ट अचानक बेपत्ता भएका थिए । अहिलेसम्म उनको बारेमा कुनै ठोस जानकारी फेला परेको छैन ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार