Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रास्वपाको हस्ताक्षर अभियान : ४६ लाख चन्दा संकलन, ६० लाख खर्च

हालसम्म साढे २४ लाख हस्ताक्षर संकलन, अब सीमा नाकामा ‘डेस्क’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा गरिएको हस्ताक्षर संकलन अभियानका क्रममा हालसम्म झण्डै ६० लाख खर्च भइसकेको जनाएको छ । रास्वपाले आज (बिहीबार) पत्रकार सम्मेलन गरी अभियानका लागि छुट्टै कोष सञ्चालन गरिरहेको जानकारी दिएको छ । रास्वपाले सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध भन्दै देश विदेशमा हस्ताक्षर अभियान चलाइरहेको छ ।

जसका लागि हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको नेता दीपक बोहोराले जानकारी दिए । हस्ताक्षर अभियानसँगै चन्दा समेत संकलन भइरहेको छ । जसअन्तर्गत हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ मात्र संकलन भएको उनले बताए ।

‘यो महँगो अभियान हो । एउटा अपिल छाप्नका लागि २ रुपैयाँ ९० पैसा लाग्छ । हामीले ५ लाख अपिल र २ लाख हस्ताक्षर संकलन फारम छापेर पठाएका छौं । १० लाख अपिल र ५ लाख हस्ताक्षर संकलन फारम छाप्न प्रेसमा दिएका छौं । बोहोराले भने, ‘हालसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरिसकेका छन् । अहिले पनि हस्ताक्षर गर्ने क्रम चलिरहेको छ ।’ रास्वपाले असार ७ गतेदेखि अभियान सुरु गरेको थियो । यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ ।

हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेका छन् । साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्‍याउन घरदैलो गर्नेछन् । अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु (काँकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ ।

हालसम्म कहाँबाट कति हस्ताक्षर ?
हालसम्म संकलित विवरणअनुसार कोशी प्रदेशबाट एक लाख ६६ हजार ८६१ हस्ताक्षर जुटेका छन् । यस्तै मधेसबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ६८, गण्डकीबाट ४ लाख ३२ हजार ७२३ र लुम्बिनीबाट २ लाख ३६ हजार ५९५ हस्ताक्षर संकलन भएका छन् ।

कर्णाली प्रदेशबाट ४३ लाख ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, ह्वास्टएपबाट ६ लाख ५० हजार १७२ र इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ । हालसम्म जम्मा भएको कूल हस्ताक्षर संख्या २४ लाख ५७ हजार ६१८ छ ।