Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताए । उनले कसैले नियोजित रुपमा चलाएका हल्लाको पछि लाग्दा सिंगो देशलाई नै असर पर्ने पनि बताए ।

आफूबारे प्रश्न उठेपछि जवाफ दिएका मन्त्री अधिकारीले यसलाई चरित्र हत्याको प्रयास भएको जिकिर गरे । साथै, उनले मालपोत अधिकृत सरुवा भएर गएपछि फेरि त्यहाँ जान्छु भनेर नभनेको पनि प्रष्ट पारे । केही मान्छेहरू आफ्नो अभिष्ट पूरा गर्नका लागि मालपोतका अधिकृतलाई फिर्ता गराउन आफूसमक्ष आएको पनि पत्रकार सम्मेलनमा बताएका हुन्  ।

‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैंले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु । कुनै आफ्नो योजना पूरा गर्न खोजेका व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न मालपोत अधिकृतलाई फिर्ता गराउन आएका थिए । मैले हुन्न भनेँ । त्यसपछि यी कुराहरू बाहिर आए । मालपोत अधिकृत सरुवा भएर गएपछि त्यहाँ जाने कुरा पनि भएको छैन । मालपोत अधिकृतले जान्छु भन्नुभएको पनि छैन । उहाँले जान्न भन्नुभएको थियो होला । उहाँ मुद्दामा पनि जानुभयो । गएपछि उहाँको फैसलामा आएन । अहिले आएर जोडेर अब मेरो नामसँग मुछेर, मेरो परिवारसँग मुछेर चरित्र हत्या गर्ने र आफ्नो अभिष्ट पूरा गर्ने अभ्यास गरिएको छ । त्यसबारे स्पष्ट पार्दै उनले भनेका छन्, ‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडिओबाट प्रष्ट हुनुहुन्छ’ उनले भने ।