Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

विदेश भ्रमणमा जाने नेपालीले अब तीन हजार डलर लैजान पाउने

राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर तीन हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरिएको छ ।

नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।


राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजनाअन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना, र नवप्रवर्तनको प्रवद्र्धनमा समेत जोड दिएको छ । साथै, भुक्तानी प्रणालीलाई बलियो र सुरक्षित बनाउँदै ‘रेगुलेटरी स्यान्डबक्स’ जस्ता नविन अभ्यास सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

‘सबल र सुरक्षित भुक्तानी प्रणाली विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिनेछ,’ गभर्नर विश्व पौडेलले भने, ‘भुक्तानी प्रणालीलाई सबल र सक्षम बनाउन यस क्षेत्रमा हुने नविन अभ्यास र नवप्रवर्तन प्रवद्र्धन गर्न रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याइनेछ ।’ डिजिटल प्रविधिको आत्मसाथसँगै, बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टिकृत सेवा प्रवाहमा प्रोत्साहन गरिने र ग्राहक पहुँचलाई अझ व्यापक बनाउने रणनीति राष्ट्र बैंकले अघि सारेको छ ।