गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए । उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादीत ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’
यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे । उनले भने, ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनु होला ।’ गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय प्रष्ट पार्न सो पार्टीलाई आग्रह गरेका छन् ।
आफूले लामिछाने भिजिटरको रुपमा अमेरिका गएको भन्ने आफूले सुनेको बताउँदै त्यसबारे जानकारी दिन आग्रह गरेका छन् । ‘माननीय रवि लामिछाने जी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थयो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रुपमा जानुभएको थियो अरे, भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रुपमा अमेरिका जानु भएको हो कि होइन ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनु हुन आग्रह गर्दछु।’