राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन भ्रमणमा गएका मानिसहरू फर्किएनन् भनेर आफूले नभनेको प्रष्टीकरण दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेका सांसदहरूलाई राम्रोसँग कान खोलेर सुन्न भन्दै हिजोकै विषय दोहोर्याइन् ।
‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनु पर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ । चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस् । मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु,’ उनले भनिन्, ‘यो सत्य हो प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकिएर नेपाल फर्किनु भयो । तर, यो पनि सत्य हो प्रधानमन्त्री जानुभएको कार्यक्रममा सबै नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् । उतै बसेका छन् ।’
उनले भिजिट भिसा प्रकरणमा आफूहरूले आन्दोलन जारी राखेको पनि बताइन् । यसअघि हिजो (मंगलबार) बसेको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् ।
सो विषयमा नियमापत्ति जनाउँदै एमाले सांसद महेश बर्तौलाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।